वेबटिभी खबर
बेलायत । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमित बढ्दै गएको पाइएको छ । संक्रमित अवस्था घट्ने नदेखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । एकै दिनमा ३० हजार जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ । गएको २४ घण्टामा अर्थात् शनिबार मात्र यहाँ ३० हजार ३०१ जना संक्रमित थपिएका सो समाचारमा जनाइएको छ ।
प्राप्त समाचारअनुसार अघिल्लो दिन पनि ३० हजार जनाभन्दा बढी नै संक्रमित भेटिएको पाइएको थियो । शनिबार भेटिएका समेत गरी बेलायतमा अहिलेसम्म ७८ लाख ७१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । लन्डनमा कोभिडको अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिए पनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी यहाँ गएको २४ घण्टा यतामात्र १२१ जनाको यो संक्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार ९१० जना पुगेको पनि बताइएको छ । अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता संक्रमित थपिने र मृत्युको संख्या पनि बढ्न थालेको जनाएका छन् । उनीहरुले हरेक दिन ३० हजार जना भन्दा पनि बढी संक्रमितहरु थपिने गरेका जानकारी दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij