वेबटिभी खबर
काठमाडौं । विभिन्न ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । विद्यार्थी संगठनहरूले मूल्यवृद्धिविरुद्ध आन्दोलन घोषणासमेत गरेका छन् ।
माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियु, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियन, वैद्यनिकट अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौं) ले संयुक्त विज्ञप्ति प्रकाशित गरी आन्दोलनको घोषणा गरेका हुन् ।
विद्यार्थी संगठनहरूले कात्तिक २५ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाउने, २६ गते विहान ९ देखि ११ बजेसम्म आयल निगमका महाप्रबन्धकलाई निगम प्रवेश निषेध तथा घेराउ, २८ गते प्रदर्शनी मार्गमा खाली सिलिण्डर प्रदर्शन, ३० गते देशभरीका आयल निगम कार्यालयमा कालो ब्यानर राखी विरोध प्रदर्शन र मंसिर २ गते दिउँसो माइतीघर मण्डलामा सडक बहस कार्यक्रम राखेका छन् ।
नेपाल आयल निगमले बुधबार राति पेट्रोल, डिजेल र मट्टितेलमा तीनरतीन रूपैयाँ तथा खाना पकाउने ग्यासमा ७५ रूपैयाँ वृद्धि गरेको थियो । यो सहित निगमले एक महिनामै पेट्रोल, डिजेल र मट्टितेलमा ६ रुपैयाँ तथा ग्यासमा १२५ रूपैयाँ मूल्य बढाएको छ । फाइल तस्बिर ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij