Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

महाधिवेशनमा केपी ओलीले खाना खुवाउने 

महाधिवेशनमा केपी ओलीले खाना खुवाउने 

  • 646
    SHARES
  • महाधिवेशनमा केपी ओलीले खाना खुवाउने 

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दसौँ महाधिवेशनका क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका प्रतिनिधिहरुलाई खाना खुवाउने भएका छन् ।

    ओलीले मङ्सिर ११ गते राति चितवनको सौराहाको एक होटेलमा खाना खुवाउने कार्यक्रम तय भएको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक तथा बाग्मती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार महाधिवेशनको मिति नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ ।

    महाधिवेशन सफल पार्न जिल्लामा निर्माण गरिएका समितिहरूले आफ्ना कामहरू तीव्ररूपमा अगाडि बढाइरहेको उनले बताए । महाधिवेशनलाई सभ्य र भव्यरूपमा सम्पन्न गर्नका लागि चितवनमा जनपरिचालन, आर्थिक प्रबन्ध, प्रचार, कार्यालय समन्वय, अनुगमन, यातायात प्रबन्धलगायतका समितिहरू निर्माण गरेर काम अगाडि बढाइएको उनले बताए ।

    जिल्लामा निर्माण गरिएको जनपरिचालन समितिको संयोजकमा देवी ज्ञवाली, आर्थिक प्रबन्ध समितिको संयोजकमा जगन्नाथ थपलिया, प्रचार समितिको संयोजकमा विजय सुवेदी, कार्यालय समन्वय समितिको संयोजकमा कपिल पोखरेल, अनुगमन समितिको संयोजकमा काशिनाथ अधिकारी र यातायात प्रबन्ध समितिको संयोजकमा कृष्ण भुर्तेल रहेका छन् ।

    आर्थिक प्रबन्ध समितिका संयोजक जगन्नाथ (जेएन) थपलियाले आर्थिक प्रबन्ध समितिलाई पूर्णता दिएर व्यवस्थित ढङ्गले योजना बनाउँदै अगाडि बढेको बताए । थपलियाका अनुसार पार्टी पङ्क्तिभित्र र पार्टीका शुभेच्छुकहरूसँग मात्रै आर्थिक संकलन गर्नेगरी काम भइरहेको छ ।

    कार्यालय समन्वय समितिका संयोजक एवम् नेकपा एमालेका केन्द्रीय सदस्य कपिल पोखरेलले समितिलाई आज पूर्णता दिइने बताए । पोखरेलका अनुसार महाधिवेशन प्रतिनिधिहरूलाई बेलुकाको खाना उनीहरू बस्ने होटेलमा नै र बिहानको खाना बन्दसत्र स्थल होटेल सेभन स्टार सौराहामा हुँदैछ ।

    प्रचार सहयोग समिति चितवनले स्वागतद्वार निर्माण, कार्यालय व्यवस्थापन, सूचना सम्प्रेषण, प्रचारका सामग्रीहरूको वितरण तथा व्यवस्थानको काम गरिरहेको  समितिका सचिव तिलकराम रिमालले बताए । जिल्लामा १६ वटा स्वागतद्वार निर्माणको काम सुरु भइसकेको भन्दै सचिव रिमालले जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी ३५ वटा स्थानमा स्वागतद्वार निर्माण गरिने बताए । समितिले प्रचार सामग्री पालिका र वडा तहसम्म पुर्याउने काम गरिरहेको भन्दै माइकिङको समेत तयारी भइरहेको रिमालले बताए ।

    जनपरिचालन समितिका संयोजक देवी ज्ञवालीले महाधिवेशनमा व्यापक जनसहभागिता जुटाउने हिसाबले कामलाई तीव्रता दिइएको बताए । महाविधेशनमा जिल्लाबाट सकेसम्म धेरै जनता उतार्ने गरी पालिका र वडाहरूमा समन्वय गरिरहेको ज्ञवालीको भनाइ छ ।

    नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र नारायणगढको नारायणी नदी किनारमा हुनेछ भने बन्दसत्र पर्यटकीय नगरी सौराहाको होटेल सेभेन स्टारमा हुनेगरी तयारीको काम अगाडि बढिरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij