वेबटिभी खबर
काडमाडौं । ड्राई फ्रुट्स खानमा स्वादिष्ट हुनुकासाथै स्वास्थ्यका लागि पनि हितकारी हुन्छन् । दैनिक यिनीहरुको सेवन गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ । बदाम, काजु, किसमिस, खजुर र ओखरकासाथसाथै अन्य धेरै ड्राइ फ्रुट्स छन् । जसले स्वस्थ रहन मद्दत गर्छन् ।
स्वास्थ्यका दृष्टिकोणले अत्यन्त लाभदायक मानिएको फल मध्ये एक हो ओखर । ओखर नेपालमा प्रायः पहाडी भेगतिर बढी पाइन्छ । ओखर पौष्टिक तत्वहरुको भण्डार हो । यसलाई एनर्जीको पावरहाउस पनि भनिन्छ ।
ओखर एन्टीअक्सिडेन्ट गुणले भरिपुर्ण हुन्छ । यसलाई धेरै प्रकारको खाद्यपदार्थमा प्रयोग गरिन्छ । यसलाई मुख्य रुपमा केक, विस्कुट आदिमा समावेश गरिन्छ । तर ओखरले केही व्यक्तिलाई एलर्जी पनि हुनसक्छ । त्यसैले ओखर खाँदा आफ्नो स्वास्थ्यलाई ध्यान दिएर खानु उपयुक्त हुन्छ ।
मुटुको लागि फाइदा
दैनिक ओखर खाँदा मुटु स्वस्थ रहन्छ । यसले रक्त धमनीहरुमा बोसो जम्मा हुन दिँदैन । उच्च रक्तचाप भएका व्यक्तिलाई ओखर फाइदाकारी हुन्छ । यसकासाथै यसले खराब कोलेस्ट्रोललाई कम गरेर राम्रो कोलेस्ट्रोल निमार्णमा मद्दत गर्छ । जसकारण मुटुसम्बन्धी रोगको जोखिमबाट बच्न सकिन्छ ।
मस्तिष्कको लागि
ओखरको नियमित सेवनले मस्तिष्क स्वास्थ्यलाई पनि फाइदा गर्छ । ओखरमा भरपुर मात्रामा ओमेगा–३ पाइन्छ । यसले मस्तिष्क कार्यमा लाभकारी प्रभाव पार्छ । साथै यसले स्मरण शक्तिमा मद्दत गरि डिप्रेशनलाई पनि कम गर्छ ।
क्यान्सरबाट बचाउँछ
क्यान्सर जस्तो प्राण घातक रोगबाट बचाउन ओखर फाइदाकारी हुन्छ । यसले क्यान्सरको जोखिमलाई कम गर्छ ।
हड्डीलाई बलियो बनाउँछ
हड्डीलाई बलियो बनाउनको लागि ओखर महत्वपूर्ण मानिन्छ । एसिडयुक्त ओखरको सेवनले हड्डी बलियो र मजबुत हुन्छ । ओखरमा क्याल्सियम र फस्फोरस पाइन्छ । जसले उमेर बढ्दै जाँदा हुने हड्डी कमजोरीबाट बचाउँछ ।
तौल कम गर्छ
फ्याट र क्यालोरीले भरिपूर्ण भएतापनि ओखरले तौल घटाउन मद्दत गर्छ । ओखरले भोकलाई नियन्त्रण गर्छ । जसकारण बारम्बार खाना खाइरहने बानी केही हदसम्म नियन्त्रण हुन्छ । यसबाहेक फाइबरयुक्त भएका कारण तौल घटाउन यसले मद्दत गर्छ ।
गर्भावस्थामा हितकारी
गर्भावस्थाको अवधिमा ओखरको सेवन गर्दा लाभकारी हुन्छ । ओखरमा पाइने भिटामिन ए, ई, बीले हुने शिशुको मानसिक विकासमा मद्दत गर्छ । साथै यसमा आइरन र क्याल्सियम पनि प्रचुर मात्रामा पाइन्छ । जसले एनीमिया हुनबाट जोगाउँछ ।
उच्च रक्तचापलाई नियन्त्रण
उच्च रक्तचाप हुँदा मुटुसम्बन्धी समस्या बढ्ने जोखिम हुन्छ । यस्तो परिस्थितिमा उच्च रक्तचापको समस्याबाट बच्न आवश्यक छ । दैनिक ओखरको सेवन गर्दा उच्च रक्तचापलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । जसकारण मुटुसम्बन्धी समस्याको जोखिम पनि कम हुन्छ ।
रोग प्रतिरोध क्षमता बलियो बनाउँछ
रोग प्रतिरोध क्षमता बलियो हुँदा धेरै रोगहरु लाग्नबाट बच्न सकिन्छ । यसलाई बलियो बनाउनको लागि ओखर पाइने गुणहरुले सहायक भुमिका निभाउँछ । ओखरमा पाइने प्रोटिनले इम्युन सिस्टमलाई बलियो बनाइ रोगमुक्त रहन मद्दत गर्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij