वेबटिभी खबर
काठमाडौं । पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ हाल विश्वका ४० भन्दा बढी राष्ट्रहरुमा पुगिसकेको छ । उक्त भेरियन्ट यसअघि पुष्टि भएका बिटा र डेल्टाभन्दा जोखिमपूर्ण हुनसक्ने स्वास्थ्यविज्ञहरुको अनुमान छ ।
२४ नोभेम्बरमा पुष्टि भएको ओमिक्रोनबारे विस्तृत रुपमा जानकारी आउन बाँकी नै छ । यसबीच हाल लगाइएका कोभिड-१९ विरुद्धको खोपले ओमिक्रोन भेरियन्टको जोखिमलाई कम गर्छ वा गर्दैन भन्ने आशंका उत्पन्न भइरहेको छ । नयाँ भेरियन्ट अनुसन्धानकै क्रममा छ । तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ओमिक्रोन भेरियन्टबाट बचाउन हाल लगाइएका खोपहरुले काम गर्ने बताएको छ ।
ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि खोप लगाइसकेका व्यक्ति गम्भीर बिरामी नपरेको डब्लुएचओको दाबी छ । दक्षिण अफ्रिकामा फाइजर खोपको प्रयोगशाला परीक्षणपछि ओमिक्रोनमा प्रभावकारी देखिएको डब्लुएचओले जनाएको छ ।
अनुसन्धानकर्ताहरुले नयाँ भेरियन्टविरुद्ध खोपले कसरी काम गर्छ भन्नेबारे धेरै कुरा पत्ता लाग्न बाँकी रहेको बताएका छन् । तर डब्लुएचओका डा. माइक र्यानले खोपको प्रभावकारितालाई चुनौती दिने मामलामा ओमिक्रोन अन्य भेरियन्टभन्दा खतरा नरहेको दाबी गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij