वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट लोकप्रिय युवा नेता गगन थापा महामन्त्रीमा चुनिने पक्कापक्की जस्तै देखिएको छ । महामन्त्रीका उम्मेदवारको बिहीबार सुरु मतगणनामा थापाले निरन्तर अग्रता लिएका छन् ।
४०९० मत गन्दा थापाले २६४४ मत ल्याएका छन् । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । भोटको रुझान हेर्दा थापालाई हरेक तप्काले मत हालेको देखिन्छ ।
सभापतिमा विजयी शेरबहादुर देउवाको टिमबाट उम्मेदवार बनेका डा.प्रकाशशरण महत र प्रदीप पौडेलसँग फराकिलो मतअन्तर बनाएर थापा अगाडि छन् । महामन्त्रीमा थापापछिको दोस्रो मत विश्वप्रकाश शर्माले पाएका छन् ।
सभापतिका प्रत्याशी डा.शेखर कोइरालाको टिमबाट थापाले महामन्त्रीमा उम्मेदवारी दिएका थिए । कोइराला पराजित भए पनि थापाले भने लोकप्रिय मतसहित जित्ने सुनिश्चित भइसकेको छ ।
सभापतिमा देउवाले जिते पनि महामन्त्रीमा उनको टिमबाट उठेका उम्मेदवारले जित्न कठिन देखिएको छ । मतदाताले ‘हाम्रो भन्दा पनि राम्रो’ मान्छे छनौट गरेको देखिन्छ । थापाप्रतिको विश्वास युवामात्र नभइ कांग्रेसका जेष्ठ नागरिकलाई पनि छ । उनको स्पष्ट अडान र कार्यशैलीका कारण अन्य पार्टीका युवाले पनि उनलाई रुचाउँछन् ।
थापाकाे जित निश्चित भएसँगै यतिखेर पार्टी मुख्यालय अगाडि थापाका शुभेच्छुकहरूले नारबाजी गर्दै मतदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । उनीहरूले ‘कांग्रेसभित्रको क्रान्ति दुई तिहाइको महामन्त्री,’ ‘आमाबाबु दाजुभाइ, धन्यवाद छ सबैलाई’ भन्दै नाराबाजी गरिरहेका छन् ।
उम्मेदवारमध्ये पाैडेल र डा.महत सभापति शेरबहादुर देउवा प्यानलका हुन भने थापा र डा.रिजाल सभापतिमा निकटतम प्रतिस्पर्धी डा.शेखर काेइराला प्यानलका हुन् । त्यसैगरी शर्मा प्रकाशमान सिंह र डा. कार्की बिमलेन्द्र निधिकाे खेमाबाट महामन्त्रीमा उम्मेदवार बनेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij