Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

तीन  कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

तीन  कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

  • 769
    SHARES
  • तीन  कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

    सांकेतिक तस्बिर 

    डोटी । कृषि क्षेत्रमा उलेख्य काम गर्ने जिल्लाका तीन किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय दिपायल राजपुरले उनीहरुलाई पुरस्कृत गरेको हो ।

    पुरस्कृत हुनेमा जोरायल गाउँपालिका-१ का खडकबहादुर मल्ल, जोरायल-३ का विष्नादेवी अवस्थी र शिखर नगरपालिका-१० का देवकीकुमारी दियाल (महरा) छन् । कृषक मल्लले तरकारी खेती, अवस्थीले पनि तरकारी खेती र च्याउँ खेती अनि महराले पशुपालन व्यवसायबाट उलेख्य काम गरेकाले पुरस्कृत भएका हुन् ।

    कृषि विकास निर्देशनालयमा आज आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई जनही रु २५ हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष कार्यविधि बनाएर यो पुरस्कार प्रदान गर्ने तयारी गरेको र यस वर्षबाट शुरुवात गरेको कृषि विकास निर्देशनालय दिपायल राजपुरका प्रमुख यज्ञराज जोशीले जानकारी दिए ।

    डडेल्धुरा जिल्लामा जन्मिएका किसान नेता एवं शहीद भीमदत्त पन्तको नामबाट उक्त पुरस्कार राखिएको हो । कृषि र पशुपालन क्षेत्रमा राम्रो काम तथा आम्दानी गर्ने किसानको हौसला बढाउनका लागि उक्त पुरस्कार र सम्मान प्रदान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीका प्रमुख खडकबहादुर शाहले बताए ।

    ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’बाट आफू पुरस्कृत भएकोमा आफू निकै खुसी हुनुका साथै कृषि क्षेत्रमा काम गर्नेथप हौसला प्रदान भएको जोरायल गाउँपालिका-१ का कृषक खडकबहादुर मल्लले बताए ।

    उनले भने, ‘मैले गरेको कामको मूल्याङ्कन गरि पुरस्कृत गरेकोमा खुसी भएको छु, कृषि क्षेत्रमा थप काम गर्ने हौसला प्रदान भएको छ ।’ उनले विसं २०५८ देखि जोरायल गाउँपालिका-१ तिलाचौडमा तरकारी खेती गर्दै आएका थिए ।

    यस्तै जोरायल गाउँपालिका-३ का किसान विष्नादेवी अवस्थीले आफूले हालसम्म कुनै पनि प्राविधिक तालिम नलिएरै भए पनि च्याउ खेती, तरकारी खेती, मसलाबालीको खेती र कुखुरापालन गर्दै आएको बताइन् ।

    उता शिखर नगरपालिका-१० का कृषक देवकीकुमारी दियाल (महरा) ले आफूले गरेको पशुपालनको स्थलगत अनुगमन र मूल्याङ्कन गरी आफूलाई पुरस्कृत गरेकोमा निकै खुसी व्यक्त गरिन् । साथै आफूले २० रोपनी जमीनमा तरकारी खेती पनि गर्दै आएको र राम्रै आम्दानी भइरहेको उनले जानकारी दिइन् ।

    सुदूरपश्चिमका नौवटै जिल्लामा रहेका तीन/तीन जनाका दरले कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गर्ने तयारी भइरहेको कृषि विकास निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

    निर्देशनालयका अनुसार यहाँका नौ जिल्लाबाट छनोट गरी २७ जना कृषकमध्येबाट यही पुस ५ गते पुनः एक जनालाई सर्वोत्कृष्ट र चार जनालाई उत्कृष्ट गरी पाँच जना कृषकलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij