वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षण अध्यापन अनुमतिपत्र परीक्षा सञ्चालनका लागि गृहकार्य गरिरहेको छ । आयोगले माध्यमिक, निम्न माध्यमिक र प्रावि तहमा रिक्त शिक्षकको पदपूर्ति गरेपछि अध्यापन अनुमतिपत्र परीक्षा सञ्चालन गर्ने भएको हो ।
आयोग स्रोतका अनुसार सोही परीक्षाका लागि गृहकार्य अगाडि बढेको छ । पछिल्लोपटक आर्थिक वर्ष ०७५/०७६ मा लाइसेन्स परीक्षा सञ्चालन गरिएको थियो ।
लाइसेन्स परीक्षा पास गरेमात्र स्थायी शिक्षकको परीक्षामा प्रतिस्पर्धा गर्न पाइन्छ । त्यसका लागि शिक्षा संकायमा अध्ययन गरेको हुनुपर्छ । माध्यमिक तहको गणित, विज्ञान, अंग्रेजी, लेखा, कम्प्युटर, सिभिलरइलेक्ट्रिकल इन्जिनियिरिङ, पशुपालना वा बाली विज्ञान विषयमा भने शिक्षा संकाय वा एकवर्षे बीएड सोसरहको १० महिने तालिम नभए पनि लाइसेन्स परीक्षामा सहभागी हुन पाइनेछ ।
लाइसेन्स परीक्षामा उत्तीर्ण भए स्थायी विज्ञापनमा पनि प्रतिस्पर्धा गर्न पाइने व्यवस्था छ । तर, शिक्षक नियुक्ति भएको ५ वर्षभित्र बीएड वा १० महिना तालिमको योग्यता हासिल गर्नुपर्ने सर्त राखिएको छ । यी विषयमा प्रतिस्पर्धी कम हुँदा यस्तो व्यवस्था गरिएको हो ।
त्यसैगरी स्थायी शिक्षकको पदपूर्ति र कार्यरत शिक्षकको बढुवा रोकिएको छ । शिक्षक सेवा नियमावलीसमेत संशोधन नहुँदा बढुवाको काम रोकिएको आयोगले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij