वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा ‘ओमिक्रोन’ भाइरसको बढ्दो संक्रमणदरलाई मध्यनजर गरेर केन्द्र सरकारले देशभर केही प्रतिबन्धहरू लगाउन तलका एकाइलाई निर्देशन दिएको छ ।
नयाँ वर्षको उत्सव मनाउने तयारीमा रहेको भारतमा भिडभाड हुँदा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण बढ्नसक्ने भन्दै मान्छे एकत्रित हुने सबैजसो गतिविधि रोक्न केन्द्र सरकारले निर्देशन दिएको हो ।
केन्द्रीय सरकारका स्वास्थ्य सचिव अजय भल्लाद्वारा जारी गरिएको सुचनामा राज्य सरकार तथा स्थानीय तहमा आवश्यकताका आधारमा भिडभाड हुन नदिन प्रतिबन्धहरू लगाउन भनिएको छ ।
सुचनामा ‘ओमिक्रोन’ बाट बच्नका लागि अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्ड पालना गर्न निर्देशन दिइएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले सबै राज्यलाई कोरोना परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, उपचार, कोरोनाविरूद्धको खोप र कोरोनाबाट जोगिने जनस्वास्थ्यका मापदण्डमा विशेष ध्यान दिन सुझाएको छ ।
नयाँ भाइरस ओमिक्रोनको जोखिमलाई मध्यजनर गर्दै केन्द्रीय राजधानीमा रात्रिकालिन कर्फ्यू आदेश जारी भइसकेको छ भने देशभर पुनः लकडाउनको स्थिति सिर्जना भएको छ । दिल्लीबाहेक यूपी, हरियाणा, मध्य प्रदेश, महाराष्ट्र, गुजरातसमेत देशका केही राज्यमा पनि रात्रिकालिन कर्फ्यू र जनस्वास्थ्यका मापदण्डलाई कडाई पूर्वक लागू गरिएको छ ।
भारतका १९ राज्यका ५७८ जनामा ‘ओमिक्रोन’ भाइरस देखिइसकेको छ । संक्रमणदर उच्च रहेको यो भाइरसबाट बच्न भारतले बेलैमा सचेतता अपनाएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij