वेबटिभी खबर
सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्रहरीको भ्यानमा ठोक्किएर एक व्यवसायीको मृत्यु भएपछि भएको प्रदर्शनमा उग्र बन्दै गएपछि स्थानीय प्रशासनले मंगलबार दिउँसो तीन बजेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको अवधि बुधबार साँझ ७ बजेसम्म जारी रहने जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को २ र ३ बमोजिम प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका हुन् । केशरगञ्ज इलाका प्रहरी कार्यालयबाट पूर्व ईश्वरपुर नगरपालिका-४ सागरनागथ टोल र पश्चिम वडा नम्बर ८ रामपुर टोलसम्म निषेधाज्ञा जारी गरिएको छ ।
त्यसैगरी उत्तरतर्फ ईश्वरपुर नगरपालिका-५ सखुवनी टोलसम्म र दक्षिणतर्फ वडा नम्बर ९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासनको सूचनमा उल्लेखछ छ ।
सर्लाहीमा प्रहरीको जिपमा आगजनी, अश्रुग्यास प्रहार
निषेधाज्ञा अवधिभर यी स्थानमा भेला हुन, हिंडडुल गर्न र राजनीतिक सभा वा गतिविधि गर्न रोक लगाइएको छ । यही आइतबार राति गस्तीमा हिंडेको प्रहरी भ्यानमा मोटरसाइकल ठोक्किंदा ईश्वरपुर नगरपालिका-५ का ३९ वर्षीय व्यवसायी रामकुमार महतोको मृत्यु भएको थियो । सो घटनाबारे प्रहरीले सोमबार बिहानमात्र जानकारी दिएको भन्दै स्थानीयले प्रहरीविरुद्ध सोमबारदेखि नै प्रदर्शन गरेका छन् ।
प्रदर्शनको क्रममा प्रहरीको जिपमा समेत आगजनी भएको थियो । प्रहरी र पीडितबीचको वार्तासमेत मिल्न नसकेपछि अवस्थालाई नियन्त्रण बाहिर जान नदिन निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले समस्या समाधानका लागि आज जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक पनि राखेका थिए ।
जिल्लामा तनाव भएकै बेला सर्लाहीमा सिडियो सरुवा

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij