वेबटिभी खबर
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल (एस) जिल्ला कमिटी सर्लाहीले ईश्वरपुर-७ मा भएको घटनाप्रति दुःख व्यक्त गर्दै छानविन समिति बनाउन माग गरेको छ । अध्यक्ष सुरेन्द्र लामाले बुधबार विज्ञप्ति जारी गर्दै समिति बनाउन माग गरेका हुन् ।
‘घटनाको सत्य, तथ्य छानविनका लागि नेपाल सरकारले नै उच्चस्तरीय छानविन समिति बनाउनु पर्ने मागमा यो पार्टी सहमत छ । छिटोभन्दा छिटो नेपाल सरकारलाई उच्चस्तरीय छानविन आयोग गठन गर्न सबै पक्षले वातावरण बनाउनु आवश्यक छ । त्यस वाहेक दोषी जो सुकै भए पनि कानुनी कारबाही हुने प्रतिवद्धता, मृतकका परिवारलाई उचित क्षतिपूर्ती,राहत, सन्ततीको शिक्षा, परिवारमा रोजगारीलगायतका विषयमा स्थानीय प्रशासन एवम् ईश्वरपुर नगरपालिकालाई पनि चाँडोभन्दा चाँडो निर्णयमा पुग्न हामी जोडदार माग गर्दछौं,’ अध्यक्ष लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
ईश्वरपुर-७ मा प्रहरीको भ्यानमा ठोक्किएर आइतबार व्यवसायी रामकुमार महतोको मृत्यु भएको थियो । महतोको मृत्यु भएपछि भएको प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले मंगलबार दिउँसो तीन बजेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको अवधि आज साँझ ७ बजेसम्म जारी रहने जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
समाजवादीले सार्वजनिक सम्पत्तिको क्षति, सर्वसाधारण एवम् सुरक्षाकर्मी घाइते तथा जनप्रतिनिधिमाथि हातपातका घटनाप्रति दुःख व्यक्त गर्दै विरोध जनाएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij