वेबटिभी खबर
महोत्तरी । नियमित सरसफाइ नहुँदा महोत्तरी कारागारका अधिकांश कैदी-थुनुवा चर्मरोगबाट पीडित भएका छन् । कैदी-थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग (छालासम्बन्धी रोग) को समस्या देखिएको हो ।
कारागारको क्षमताभन्दा बढी कैदी-थुनुवा हुँदा कोचाकोच भएर बस्नुपरेको छ । सानो ठाउँमा बस्नुपर्ने र कैदी-थुनुवा कक्षमा फोहोर बढेपछि चर्मरोगको समस्या बढेको कैदी-थुनुवा बताउँछन् । ‘राम्ररी कोल्टे फेर्न पनि ठाउँ छैन, कोचाकोच भएर बस्नुपरेको छ’, जिउभरि खटिरा देखाउँदै थुनुवाले भने, ‘कारागारमा मान्छे थपिएको थपियै छन्, नियमित सरसफाइ छैन ।’
१ सय ३५ कैदी-थुनुवा राख्न मिल्ने क्षमताको कारागारमा अहिले १९४ कैदी र ३७६ थुनुवा छन् । पुरुष र महिलाको छुट्टाछुट्टै कक्ष छ । पुरुष कक्षमा १७९ कैदी र ३४६ थुनुवा छन् भने महिला कक्षमा १५ कैदी र ३२ थुनुवा रहेका जेलर अशोककुमार क्षेत्रीले जानकारी दिए ।
महिला कक्षमा आमाका साथमा रहेका पाँच वर्षमुनिका ६ बालक र तीन बालिका छन् । दिनहुँ बढ्ने कैदी-थुनुवाको चापले सबैको ठिक समयमा स्वास्थ्य जाँच, नियमित उपचार र आवश्यक स्याहार गर्न नसकिएको क्षेत्री स्वीकार गरेका छन् ।
‘हामी स्वास्थ्य समस्याबारे संवेदनशील नभएको होइन’, उनले भने, ‘कारागारमा पर्याप्त जनशक्ति छैन ।’ यससँगै नियमित सरसफाइको पाटो पनि चर्मरोग बढ्नुको मुख्य कारण रहेको क्षेत्रीले बताए ।
भित्रको सरसफाइमा कैदी-थुनुवाले पनि ध्यान दिन नसकेको उनको भनाइ छ । कारागारमा श्वासप्रश्वास, मधुमेह, रक्तचाप र पेटसम्बन्धी समस्याका बिरामी पनि छन् । छाला चिलाउने समस्या अधिकांश कैदी-थुनुवामा देखिएको छ ।
छालासम्बन्धी उपचार शिविर सञ्चालन गर्न कैदी-थुनुवाले माग गरेका छन् । न्यायिक निकायबाट मुद्दा छिनोफानो समयमै नहुँदा कैदी-थुनुवाको संख्या बढ्दै गएको छ । १९१३ मा निर्माण गरिएको कारागार भवन जीर्ण बनेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij