मिलन दाहाल
काठमाडौं । नेपाली कांग्रेसका नेताहरू अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्न अन्य दलको सहयोग जुटाउन दौडधूपमा छन् । पार्टीभित्र गुटमा विभाजित कांग्रेसका नेताहरू एमसीसी पारित गराउने विषयमा भने एकजुट भएर सबै दलकाे समर्थन जुटाउने प्रयास गरिरहेका हुन् ।
संस्थापन इतर समूहका महामन्त्री गगन थापा यतिबेला एमसीसीमा पारित गराउने सन्दर्भका बैठकमा संस्थापन समूहसँग काँध मिलाएर हिंडिरहेका छन् । थापा प्रधानमन्त्री देउवा र एमसीसीको विषयमा खुलेरै लागेका छन् ।
त्यस्तै संस्थापन इतर समूहकै अर्का कांग्रेस नेता डा.मिनेन्द्र रिजालले पनि एसीसीमा सहमति जुटाउन विभिन्न दलका शीर्ष नेताहरूलाई भेटिरहेका छन् । उनी गत फागुन ५ गते बिहीबार दिउँसो एमसीसीकै सन्दर्भमा कुराकानी गर्न पार्टीका तर्फबाट एमाले अध्यक्ष ओलीलाई भेट्न बालकाेट पुगेको थिए ।
रिजालले दिउँसो ओलीलाई भेटेपछि सोही दिन साँझ सत्ता गठबन्धनको बैठक सकिए लगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगे । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि गठबन्धन जोगाउने बैठकमा सक्रिय भएर लागेका छन् ।
एमसीसी पारित गराउन देउवालाई कांग्रेसको बलियो साथ
यसैगरी गृहमन्त्री बालकृष्ण खाणले पनि प्रधानमन्त्री देउवाको आग्रहमा विभिन्न दलका शीर्ष नेताहरूलाई भेटेर एमसीसीमा सहमति जुटाउने प्रयास गरिरहेका छन् । त्यस्तै पार्टी उपसभापतिसमेत रहेका कांग्रेस नेता पूर्णबहादुर खड्का प्रायः प्रधानमन्त्री देउवाको साथमै देखिन्छन् ।
प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा होस् वा सत्तारूढ गठबन्धनका नेताहरूसँगको भेटघाटमा होस् उपसभापति खड्का प्रधानमन्त्री देउवासँगै देखिन्छन् । उपसभापति खड्का पहिलेदेखि नै प्रधानमन्त्री देउवानजिक मानिन्छन् । एमसीसी अनुमोदन गराउने विषयमा प्रधानमन्त्री देउवालाई युवा नेतादेखि संस्थापन इतर समूहसम्मको पूर्ण साथ छ ।
एमसीसी पास र गठबन्धन जोगाउने सन्दर्भमा बसेका उच्चस्तरीय बैठकमा उपसभापति खड्का र महामन्त्री थापा सक्रिय देखिए पनि अर्का महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति धनराज गुरुङ भने देखा परेका छैनन् ।
प्रधानमन्त्री देउवा आफैं सक्रिय रूपमा देखिएको बेला महामन्त्री शर्मा र उपसभापति गुरुङ भूमिकाविहीन जस्तो देखिएपछि यसै विषयमा बेवटिभी खबरले चासो राख्दा महामन्त्री शर्माले आफूहरू सल्लाह गरेर नै सहभागी नभएको बताए ।
गगन थापा संसदमा समेत रहेकोले पार्टी सभापति, उपभापति महामन्त्री र सहमहामन्त्रीलगायतको बैठक बसेपछि खड्का र थापालाई ती बैठकहरूमा सक्रिय बनाइएको महामन्त्री शर्माले बताए ।
उनका अनुसार सबैसँगको छलफलपछिको निर्णयमा खड्का र थापालाई गठबन्धन र एमसीसीका बैठकमा सहभागी गराइएको हो । उनले भने, ‘पार्टीका दुई उपसभापति, दुई महामन्त्री र आठजना सहमहामन्त्री छौँ, एउटै बैठकमा किन सबै सहभागी हुने भनेर सल्लाह गरेर नै उहाँहरूलाई खटाइएको हो ।’
थापा संसदको सदस्य र खड्का पहिलादेखि नै विभिन्न संयन्त्रको सदस्य भएकाले उनीहरूलाई बैठकमा सहभागी बनाइएको पार्टी प्रवक्तासमेत रहेका नेता डा.प्रकाशशरण महतले बताए । उनले भने,‘बैठक वा छलफलमा सबै महामन्त्री वा उपसभापति हुनपर्छ भन्ने पनि छैन, सान्दर्भिकता त्यस्तै परेको हुनाले उहाँहरूलाई खटाइएको हो ।’
गृहमन्त्री खाँणको ओली र प्रचण्डसँग भेटवार्ताको भित्री कथा
एमसीसीबारे कांग्रेसले गठबन्धनसँग कुरै नगर्ने, एमालेसँग निर्णायक वार्ता आजै
एमसीसीको विपक्षमा रहेका दलसँग वार्ता गर्न रामचन्द्र पाैडेल सक्रिय
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij