वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्न मात्र सोध्ने प्रक्रिया अघि बढाएको छ । त्यसका लागि आयोगले पाठ्क्रम तयार गर्ने काम गरिरहेको छ । पाठ्क्रम तयार भएपछि त्यसलाई स्वीकृत गरेर लागू गर्ने योजनामा आयोग छ ।
आयोगका प्रशासकीय प्रमुख केशवप्रसाद दाहालले नयाँ पाठ्क्रम निर्माण गर्ने काम भइरहेको भएपनि त्यस विषयमा भने अहिले नै कुनै निर्णय भइनसकेको वेबटिभी खबरलाई जानकारी दिए ।
उनले पाठ्मक्रम निर्माण भएपछि यस विषयमा थप निर्णय हुने जानकारी दिए । उनका अनुसार अध्यापन अनुमतिपत्रको पाठ्क्रम पनि परिवर्तन गर्ने र परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने विषयमा छलफल भइरहेको छ ।
पाठ्क्रम परिवर्तन गर्दा परीक्षा कसरी लिने भन्ने कुरा पाठ्क्रमले भन्ने हुँदा सोही अनुसार परीक्षा सञ्चालन हुने उनले बताए । परीक्षालाई सहज र सरल बनाउने गरी पाठ्क्रम निर्माण गर्ने काम भइरहेको र उक्त विषयमा निर्णय आयोगले गर्ने उनले बताए ।
यसअघिका अध्यापन अनुमति पत्रका परीक्षाहरूमा आयोगले १०० पूर्णाङ्कको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेको थियो । आयोगको पाठ्यक्रम समितिले पाठ्यक्रम संशोधनको अन्तिम चरणको काम गरिहेको छ ।
अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णयअनुरूप पाठ्यक्रम संशोधन भएको खण्डमा नतिजा प्रकाशन छिटो हुने र उत्तरपुस्तिका परीक्षणमा समेत सहज हुने जनाइएको छ ।
नयाँ पाठ्क्रम लागू भए परीक्षामा ५० वटा प्रश्न सोधिनेछ । जसमा एउटा प्रश्नको अंक भार दुई हुनेछ । गलत उत्तर दिएमा प्राप्तांक घटाउने (नेगेटिभ मार्किङ गर्ने) प्रावधानलाई पाठ्यक्रममा समावेश गरिने आयोगले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij