वेबटिभी खबर
काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले जहाज थपेर व्यवसाय विस्तारमा जुटेको छ । बुद्ध एयरले थप एटिआर-७२ (७२ सिटे) जहाज भित्र्याएर आक्रामकरूपमा बजार विस्तारमा लागेको हो ।
बुद्ध एयरले हालै थप १ थान एटिआर ७२ जहाज भित्र्याएको छ । योसँगै कम्पनीसँग ११ वटा एटिआर-७२, ३ वटा एटिआर-४२ र २ वटाबीच क्राफ्टसहित १६ जहाज छन् । थप ४ जहाज आउने प्रक्रियामा रहेको र करिब चार महिनाको अन्तरालभित्रै ती जहाज नेपाल आइपुग्नेछन् ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जहाज थपेर बजार विस्तार गर्न कम्पनी लागि परेको बताए । उनका अनुसार देशको भौगोलिक अवस्था र जनजीवनलाई सहज तुल्याउन कम्पनीले बजार विस्तारको रणनीति लिएको हो ।
आफ्नो २४ वर्षे यात्राको आरोह अवरोहलाई छिचोल्दै बुद्ध एयरले आन्तरिक उडानमा एटिआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको कम्पनीले उल्लेख गरेको छ ।
१९९७ अक्टोवर ११ मा बुद्ध एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै शुरूवातमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो । बुद्ध एयरले हाल दैनिक करिब ९ हजार यात्रुलाई सेवा दिइरहेको छ ।
कम्पनीले दैनिक १५० हाराहारी उडान गरिरहेको छ । आन्तरिक हवाई यात्रुले भरिभराउ छ अर्थात झण्डै ९० प्रतिशत आन्तरिक हवाईयात्रुले जहाज भरिने गरेको कम्पनीका सूचना अधिकारी कर्णले बताए ।
उनले कोभिड पूर्वकै अवस्थामा कम्पनीको आन्तरिक उडान भइरहेको उल्लेख गरे । कोभिड-१९ महामारी घटेर सहज वातावरण बनेपछि अहिले भारतीय नागरिक पनि आउन थालेकाले पर्यटन बजार फष्टाउने अपेक्षा उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij