वेबटिभी खबर
काठमाडौं । सडक सञ्जालले नछोएको लमजुङको मर्स्याङदी गाउँपालिका–५ सञ्जापुमा मोटरबाटोको सुविधा पुगेको छ । संसद विकास कोष अन्तर्गतको बजेट र मर्स्याङदी गाउँपालिकाको सहयोगमा सञ्जापुमा मोटरबाटोको सुविधा पुगेको हो ।
मोटरबाटो नभएकै कारण आउने गरेका समस्यालाई मध्येनजर गर्दै गाउँमा मोटरबाटो पुर्याइएको हो । सञ्जापु मोटरबाटो निर्माण समितिका अध्यक्ष डिलबहादुर गुरुङका अनुसार गत वर्षबाट मोटरबाटोको काम थालिएकोमा यस वर्ष सकिएको हो ।
गत वर्ष ०७७/०७८ मा गण्डकी प्रदेश सभाका सांसद धनञ्जय दवाडीको पहलमा संसद विकास कोष कार्यक्रम अन्तर्गत विनियोजन भएको ३५ लाख, मर्स्याङदी गाउँपालिकाको २० लाख र वडा कार्यालयको ४ लाख बजेटमा काम भएको थियो ।
यस वर्ष मर्स्याङदी गाउँपालिकाले ७ लाख रुपैयाँ थपेर सडकको काम सम्पन्न गराएको हो । सञ्जापुमा मर्स्याङदी गाउँपालिका ६ बाहुनडाँडाको बाटो हुँदै सडक पुर्याइएको छ ।
मोटरबाटोको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले नागरिकलाई मोटरबाटोको अतिआवश्यक भएकाले यसमा बजेट व्यवस्था गरिएको बताए । सडकको सुविधा पुगेपछि सवारीसाधनमार्फत आवातजावत गर्न सहज हुने र गाउँमा उत्पादित बस्तु बजारसम्म पुर्याउन सकिने बताए ।
र्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सञ्जापु गाउँ सडक सञ्जालले जोडिएसंगै जमिनको अधिकतम उपयोग गरी व्यवसायिक उत्पादनमा जोडिनुपर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij