वेबटिभी खबर
टीकापुर । सुदूरपश्चिम प्रदेश सरकारको विशेष अनुदान र टीकापुर नगरपालिकाको समन्वयमा नयाँ पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको छ । नगरपालिका-८ को जग्गा अतिक्रमण गरी बस्दै आएका १५ घरधुरीलाई जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरी हस्तान्तरण गरिएको हाे ।
‘कयौं वर्ष हामीले घाम पनि नभनी कष्टकर जीवनयापन गरेका थियौं’, एक स्थानियले भने, ‘स्थानीय सरकार हाम्रो लागि भगवान भएर आयो । त्रीपालको हाम्रो बास आज पक्की घरमा हुन थालेको छ ।’
वडा नं ८ का चन्द्रमाने दमाइँ पक्की घर पाएपछि निकै खुसी भएका छन् । सरकारले आफुहरूको कुनै लगानी नहुँदा पनि पक्की घर निर्माण गरी हस्तान्तरण गरेपछि आफुहरूलाई बस्नको लागि निकै सहज भएको उनले बताए । ‘हामीले सोचेका पनि थिएनौं, सरकारले हामीलाई घर बनाएर दिन्छ भन्ने कुरा ।’
विपन्न दलित परिवारका लागि नगरपालिकाको समन्वयमा आर्थिक वर्ष २०७६/७७ मा ७ वटा घर निर्माण भएका थिए भने आर्थिक वर्ष २०७७/७८ मा ८ घर निर्माण भएका थिए । प्रदेश सरकारको विषेश अनुदानमा निर्माण भएका घर प्रति घर करिब ९ लाख लागतमा निमार्ण भएको वडा नं-८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए ।
‘वडाका ती विपन्न दलित परिवारको अवस्था निकै कष्टकर थियो । वडाको जग्गामा उहाँहरू बस्दै आउनुभएको थियो’, वडा अध्यक्ष ठकुल्लाले भने, ‘यसलाई हामीले निरन्तरता दिने तयारी गरेका छौं । पालिकामा भएका अति विपन्न परिवारको व्यवस्थापनका लागि स्थानीय सरकार प्रतिबद्ध छ ।’
नगरप्रमुख तपेन्द्रबहादुर रावलले आर्थिक अवस्था निकै कमजोर भएका परिवारलाई राहत हुने गरी जनता आवास कार्यक्रम सञ्चालन गरिएको बताए ।
‘आर्थिक रूपमा विपन्न नागरिकलाई यसैगरी जनता आवास कार्यक्रमअन्तर्गत आवास निर्माण गर्दै जाने छौं । त्यसका लागि नगरपालिकाले गर्नुपर्ने कामका लागि सधैं अग्रसर रहने छ’, नगरप्रमुख रावलले भने, ‘एकैपटक सबैको आवश्यकता पूरा गर्न नगरपालिकाको आर्थिक अवस्थाले पनि भ्याउदैन । आफ्नो स्रोतसाधन अनुसार नागरिकको आवश्यकतालाई पूरा गर्दै लगिने छ ।’
नगरप्रमुख रावलले चालु आर्थिक वर्षमा नगरपालिका-६ को पर्सेनीमा जनता आवास कार्यक्रम अन्तर्गत १८ घरको शिलान्यास भएर काम अगाडि बढाइएको बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij