Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

स्थानीय निर्वाचनमा जुटे दलहरू

स्थानीय निर्वाचनमा जुटे दलहरू

  • 563
    SHARES
  • स्थानीय निर्वाचनमा जुटे दलहरू

    काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेश प्रदेशका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् ।

    अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर गाउँ-गाउँ पुग्न थालेका छन् ।

    सरकारले २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ । सरकारको घोषणासँगै निर्धारित मितिमै चुनाव सम्पन्न गर्ने तयारीमा रहेको निर्वाचन आयोगले आगामी वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयनपत्र दर्तालगायत कार्यतालिका प्रकाशन गरिसकेको छ ।

    निर्वाचनको मिति नजिकिँदै जाँदा मुख्य राजनीतिक दलको ध्यान उम्मेदवार छनोटदेखि मतदाता रिझाउनमा केन्द्रित बनेको छ । उम्मेदवारको आकांक्षीदेखि विभिन्न राजनीतिक दलका नेताहरू गाउँ पुग्न थालेपछि सहरदेखि ग्रामीण क्षेत्रमा समेत चुनावी माहोल बन्दै गएको देखिन्छ ।

    अघिल्लो स्थानीय तह चुनावमा देखिएको कमी-कमजोरीलाई सच्याएर चुनावी परिणाम कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने रणनीतिका साथ चुनाव केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको कांग्रेस मधेस प्रदेशका सभापति कृष्णकुमार यादवले जानकारी दिए ।

    प्रदेशभरिका सबै स्थानीय तहको वडा-वडामा टोल समिति गठन गर्नुका साथै पालिकास्तरीय, प्रदेशसभास्तरीय र संघीय निर्वाचन क्षेत्रस्तरीय भेला सम्पन्न गरिसकेको सभापति यादवले बताए ।

    स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षका आकांक्षीको छनोट सम्बन्धमा समेत बहस र छलफल भइरहेको उनले बताए ।

    आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी पहिलो बनाउने विषयमा नेता कार्यकर्ताबीच नियमित छलफल भइरहेको उनको भनाइ छ । पार्टी विभाजनपश्चात मधेस प्रदेशमा खस्किएको आफ्नो साखलाई आगामी स्थानीय तह निर्वाचनमार्फत फर्काउने उद्देश्यका साथ एमालेले पनि मधेस प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा चुनावलक्षित कार्यक्रमलाई अगाडि बढाएको छ ।

    एमाले नेता तथा मधेस प्रदेश सहइञ्चार्ज लीलानाथ श्रेष्ठले स्थानीय तहका टोल समिति गठनसँगै वडा-वडामा टोल भेला तथा प्रशिक्षण दिने कार्यक्रम भइरहेको जानकारी दिए । स्थानीय तहका प्रत्येक वडामा पाँचदेखि १५ वटासम्म टोल कमिटी गठन गरिएको र भातृ संस्थाको  भेला, प्रशिक्षण र कमिटी गठनको कार्य जारी रहेको उनले बताए ।

    उनका अनुसार अहिले स्थानीय तह केन्द्रित भेला, प्रशिक्षण र अन्तर्क्रिया भइरहेको छ । त्यो सकिएपछि उम्मेदवार छनोटको कार्य अघि बढाउने काम अघि बढ्छ । त्यस्तै माओवादी केन्द्रले पार्टीको नगर तथा गाउँपालिकामा जनवर्गीय संगठनलाई तीव्रता दिनुका साथै नेता कार्यकर्तालाई गाउँ-गाउँमा खटाएको छ ।

    विभिन्न जिल्लामा पार्टीभित्र देखिएको विवादलाई हल गर्दै पार्टीलाई जिताउने गरी तयारीमा जुट्न गाउँ-गाउँमा नेता, कार्यकर्तालाई परिचालन गरिएको नेकपा (माओवादी केन्द्र)का मधेस प्रदेश अध्यक्ष प्रह्लाद  बुढाथोकीले बताए ।

    चुनावी तयारीस्वरुप माओवादी केन्द्रले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमसमेत गर्न लागेको छ ।

    त्यसैगरी अघिल्लो स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा बलियो पकड बनाएको जनता समाजवादी पार्टीले पनि आनो पुरानो साखलाई कायम राख्दै अझै थप केही स्थानीय तहमा जित निकाल्ने गरी तयारीमा जुटेको छ ।

    स्थानीय तहको निर्वाचनलाई लक्षित गरी टोल कमिटी गठन गर्ने, प्रशिक्षण अभियान सञ्चालन गर्नेलगायत कार्य अगाडि बढाएको जसपा मधेस प्रदेशका सचिव दिनेशकुमार यादवले जानकारी दिए ।

    गाउँ-गाउँमा पार्टी प्रवेश कार्यक्रमदेखि भेला, अन्तक्र्रिया र प्रशिक्षणलगायतका कार्यक्रम गरिरहेका उनले जानकारी दिए । उनका अनुसार अहिले पार्टीमा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको छ, पार्टी प्रवेश कार्यक्रमसँगै चुनाव केन्द्रित कार्यक्रमलाई पनि अघि बढाउने काम भइरहेको छ ।

    अघिल्लो निर्वाचनमा भन्दा यसपालिको निर्वाचनमा आफ्नो पार्टीले बढी स्थानीय तह जित्ने उनको दाबी छ । पार्टी विभाजनबाट बनेको नेकपा (एकीकृत समाजवादी)ले पनि चुनावी गतिविधि अघि बढाएको छ ।

    पार्टीका प्रदेश सचिव सुधीरकुमार साहका अनुसार एकीकृत समाजवादीले पनि अहिले प्रदेशका अधिकांश स्थानीय तहमा संगठन विस्तार र भेला गरिरहेको छ । मुलुक बिखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किएको डा.सिके राउत नेतृत्वको जनमत पार्टीले पनि मधेश प्रदेशमा स्थानीय तह निर्वाचनलक्षित कार्यक्रम सुरु गरेको छ ।

    जनमत पार्टीले सप्तरीबाट माटो यात्रामार्फत चुनावी अभियान सुरु गरेको छ । जनमत माटो यात्रामा सहभागी गाडीमा ‘अबकी बार, सीके सरकार’ नारासमेत देखिएको छ ।

    यसैबीच स्थानीय तहको निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्नाको लागि सूचना जारी भएपछि मधेस प्रदेशका जिल्लामा आवेदन भर्ने मधेसी युवाको भीड बढेको छ ।

    म्यादी प्रहरी भर्नाका लागि आवेदन दर्ता गराउन जिल्ला प्रहरी कार्यालय धनुषामा दैनिकरूपमा ठूलो भीड लाग्ने गरेका छन् । स्थानीय तह निर्वाचनमा खटिने म्यादी प्रहरीको भर्नामा युवाको बढ्दो आकर्षणले पनि आसन्न स्थानीय तहको निर्वाचनको वातावरण बन्दै गएको बुझ्न सकिन्छ ।

    यसरी राजनीतिक दलहरूले चुनावलक्षित गतिविधिलाई तीव्रता दिएपछि निर्वाचनको माहोल बन्दै गएको स्थानीय नेता तथा कार्यकर्ताहरू बताउँछन् । कूल नौ हजार ६६१ वर्ग किलोमिटर क्षेत्रफल रहेको मधेस प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकासहित १३६ स्थानीय तहमा एक हजार २७१ वडा छन् ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij