Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

चैत मसान्तभित्र मेलम्चीको पानी राजधानीका धारामा हुन्छ : खानेपानी मन्त्री चौधरी

चैत मसान्तभित्र मेलम्चीको पानी राजधानीका धारामा हुन्छ : खानेपानी मन्त्री चौधरी

  • 461
    SHARES
  • चैत मसान्तभित्र मेलम्चीको पानी राजधानीका धारामा हुन्छ : खानेपानी मन्त्री चौधरी

    काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको बताएका छन् ।

    विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार निकायले आयोजना गरेको कार्यक्रममा उनले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदा पनि अभाव हुने भएकाले याङ्री र लार्केको पानी पनि राजधानीमा ल्याउने सहमति भइसकेको बताएका हुन् ।

    ‘सुक्खाग्रस्त क्षेत्रमा पम्पिङ र लिफ्टिङ गर्दा सिँचाइकै जस्तो मूल्य निर्धारणका लागि पहल गर्नेछु, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने सपना यही चैत मसान्तसम्ममा पूरा हुनेछ, मेलम्चीको विकल्पका रूपमा सिस्नेरीलगायतका स्रोतको पनि अध्ययन भइरहेको छ’, उनले भने ।

    उनले शुद्ध खानेपानी नपुगेको सामुदायिक विद्यालयमा मन्त्रालयले पानी पुर्याउने बताए । तराई मधेसमा ८० देखि ९० प्रतिशतसम्म राज्यको लगानी गरेर ठूला-ठूला ओभरहेड ट्यांकी निर्माण गरिए पनि पूरा नभएको उल्लेख गर्दै मन्त्री चौधरीले पूरा गर्ने गरी योजना अघि बढाइएको बताए ।

    मन्त्रालयका सचिव सुरेश आचार्यले आर्सेनिक युक्त पानीलाई स्वच्छ र सुरक्षित बनाउन जरूरी रहेको उल्लेख गर्दै भूमिगत जलस्रोतका विषयमा थप अध्ययन र अनुसन्धान गरिनु अवाश्यक रहेको बताए । मन्त्रालयले ‘पानीको स्रोतसँग जोडिएको हाम्रो ज्ञान, मूल फुटाउने हाम्रो अभियान’ का साथ विशेष कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ४० प्रतिशत चुहावट रोक्न सके यसले धेरैलाई राहत मिल्ने भएकाले ध्यान दिन सचिव आचार्यले निर्देशन दिए । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले भूमिगत पानी व्यवस्थापन गर्न नसक्दा समस्या भएको बताए । वर्षामा १ हजार ६०० मिलिलिटर पानी पर्ने देशमा वर्षाको पानी संकलन नगर्दा समस्या हुने गरेको उनको भनाइ छ ।

    कार्यक्रममा बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुसाल, सोफेनका अध्यक्ष अनिलभद्र खनाललगायतले भूमिगत पानीको सही रूपमा उपयोग एवं व्यवस्थापन गरिनुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा पानीका बारेमा माध्यमिक तहका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगितसमेत आयोजना गरिएको थियो । उक्त अवसरमा मन्त्रालयका सचिव आचार्यले रचना गरेको पानीसम्बन्धी चेतनामूलक गीतको मन्त्री चौधरीले विमोचन गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij