Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

छत्तीस वर्षपछि ४१७ परिवारले जग्गाधनी पूर्जा पाउँदै

छत्तीस वर्षपछि ४१७ परिवारले जग्गाधनी पूर्जा पाउँदै

  • 450
    SHARES
  • छत्तीस वर्षपछि ४१७ परिवारले जग्गाधनी पूर्जा पाउँदै

    कर्णाली । राष्ट्रिय भूमि आयोग सुर्खेत शाखाले पहिलो चरणमा सुर्खेतको भेरीगंगा नगरपालिकास्थित कोटमाझखर्कका ४१७ घर परिवारलाई जग्गाधनी पूर्जा वितरण गर्ने भएको छ । २०४२ देखि पूर्जाविहिन यो बस्तीलाई राष्ट्रिय भूमि आयोगको कार्यविधि २०७८ ले तोकेबमोजिमका सबै प्रक्रिया पूरा गरी पूर्जा वितरण गर्न लागिएको हो ।

    आयोगले नापी र मालपोत कार्यालयबाट सबै प्रक्रिया पूरा गरेपछि तयार भएका पूर्जा भेरीगंगा नगरपालिकालाई हस्तान्तरण गर्ने र नगरपालिकाले नै पूर्जा वितरण गर्ने बताइएको छ । आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्यालले कोटमाझखर्कका ६७७ परिवारको आवेदन परेकामा पहिलो चरणमा ४१७ जनालाई पहिलो प्राथमिकतामा राखेर पूर्जा वितरण गरिने जानकारी दिए ।

    आयोगले यसअघि सात दिने सूचना जारी गरी थप कागजात, पूरक प्रमाण वा कुनै दाबी विरोध वा उजुरीका लागि जग्गाधनी प्रमाणपत्र पाउने व्यक्तिको नामावली सार्वजनिक गरेको थियो । विगतमा बनेका भूमिसम्बन्धी आयोग र समितिले तयार गरेको लगतलाई आधार बनाएर पूर्जा वितरण गर्ने अन्तिम तयारी गरिएको हो ।

    ‘निवेदनमाथि छानबिन, मिसिल भिडाउने, नापी र मालपोतमा रुजु गर्नाका साथै निवेदनमा छुटेका कागजात माग गरी कित्ताकाटको प्रक्रिया सुरु गरेका छौं’, आयोगका जिल्ला अध्यक्ष पौड्यालले भने, ‘प्राविधिक टोलीले पुर्जा वितरणका लागि सबै तयारी गरिरहेको छ, अबको एक हप्ताभित्र पूर्जा वितरणको काम सुरु गर्ने गरी तयारी भइरहेको छ ।’

    लामो समयदेखि जग्गाधनी पुर्जा नपाउँदा त्यहाँका बासिन्दा बैंकिङ कारोबार, विद्युतलगायत सेवाबाट वञ्चित थिए । आयोगको जिल्ला कार्यालयका अनुसार कोटमाझखर्कको ८ हजार १५५ रोपनी जग्गाको नक्सांकन गरिएको छ ।

    सुर्खेतमा ५ हजार ९९४ भूमिहीन घरपरिवारको लगत संकलन गरिएकोमा अव्यवस्थित बसोबास गरिरहेका ४७ हजार ४४१ घरपरिवारले पनि आयोगमा निवेदन दिएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij