वेबटिभी खबर
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतलाई थप तीन वटा नयाँ हवाई रुट दिन आग्रह गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरिएको हो ।
‘हामीले सडक, रेल र हवाई कनेक्टीभिटीका क्षेत्रमा छलफल गयौं,’ नेपाल–भारत उच्चस्तीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटको लागि अनुरोध गरेका छौं ।’
प्रधानमन्त्रीको रुपमा पाँचौं पटक भारत भ्रमणमा रहेका देउवाले कोरोना नियन्त्रणमा खोप उपलब्ध गरी सहयोग गरेकोमा भारत र भारतीय जनतालाई धन्यवाद दिएका थिए । भारतीय प्रधानमन्त्रीसँगको भेटमा राजनीतिक, आर्थिक र सामाजिक सबै पक्षमा गहन कुराकानी भएको उनले जनाए ।
उनले नेपाल र भारतले समावेशी विकासको साझा उदेश्य लिएको समेत बताए । भारतसँगको सम्बन्ध नेपाललाई निकै महत्वपूर्ण रहेको उनको भनाइ छ । प्रधामन्त्री देउवाले भने,‘भारतको समृद्धि र विकासबाट हामी पनि फाइदा लिन चाहन्छौं ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij