वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा सबैका लागि व्यवस्था हुनुपर्ने बताएका छन् ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको शान्ति निकेतन माविको नवनिर्मित भवनको आज उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा उनले विद्यार्थीको भविष्य शिक्षकको हातमा हुने भएकाले शिक्षक नियुक्ति गर्दा भनसुनले नभई उत्कृष्ट शिक्षक परीक्षाबाट लिनुपर्ने बताए ।
उनले भने,‘एउटा शिक्षक कमजोर हुँदा कक्षामा रहेका सबै विद्यार्थीको भविष्य कमजोर हुन्छ, त्यसैले शिक्षक नियुक्तिमा भनसुन रोक्नुपर्छ, शिक्षक भर्ना गर्दा क्वालिटीको शिक्षक भर्ना गर्न मन्त्रालयदेखि सबैले ध्यान दिनुपर्छ ।’
शिक्षाले वास्तवमा जीवन जिउने कला दिने बताउँदै उनले शिक्षाले जीवनमा वास्तविक सुख प्राप्त गर्ने बाटो खोल्ने भएकाले सिङ्गो नेपाललाई नै समृद्ध नेपाल बनाउने र देशभरका जनतालाई सुखी बनाउने आफ्नो अभियान नरोकिएको बताए ।
सूर्यविनायकमा निर्माणाधीन अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण भइरहेको चर्चा गर्दै ओलीले यहाँको चिडियाखाना विस्तार कार्य रोकिएको बताए । उनले भने,‘मैले सुरु गरेका विकासका काम विभिन्न कारण देखाउँदै रोक्न काम भइरहेको छ, तर हामी आत्तिएका छैनौँ, किनकि सबैलाई थाहा छ, रातपछि फेरि घाम लाग्छ ।’
अध्यक्ष ओलीले गठबन्धनको लछाचुडीले विकास एक वर्ष खेर गएको आरोप लगाए । देशभरका सबै पालिका र सदरमुकाममा दुई वर्षभित्र जोड्ने गरी एकै पटक देशभरका २६५ सडक उद्घाटन गरे पनि अहिले यो विकास पनि रोकिएको उनको भनाइ छ ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनप्रतिनिधिको यो पाँच वर्ष भक्तपुरको विकासका लागि स्वर्णयुग साबित भएको बताए । सूर्यविनायकका नगरप्रमुख वासुदेव थापाले यस नगरको विकासमा सबै जनप्रतिनिधि र तीन तहकै सरकारको सहयोगले मुहार फेर्न सफल भएको बताए
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij