वेबटिभी खबर
काठमाडौं । युरोपेली फुटबलको ब्रेकवे सुपर लिग विवादास्पद प्रतियोगिताबाट छ वटा इङलिस क्लब बाहिरिएका छन् । प्रतियोगिता घोषणा भएदेखि नै सबैतिरबाट यसको आलोचना भएपछि प्रिमियर लिगका छ वटा क्लबले आफ्नो नाम फिर्ता लिएका हुन् ।
सबैभन्दा सुरुमा म्यानचेस्टर सिटीले प्रतियोगितामा सहभागी नहुने निर्णय गरेपछि आर्सनल, लिभरपुल, म्यानचेष्टर युनाइटेड र टोटनहम हट्सपरले पनि नाम फिर्ता लिएका हो ।
आइतबार इंग्ल्यान्डका छ वटा क्लबसँगै १२ वटा ठूला फुटबल क्लब मिलेर अगस्टबाट सुरु हुने गरी युरोपियन्स लिगको घोषणा गरेका थिए । यसमा म्यानचेस्टर सिटी, युनाइटेड बार्सिलोना, रियल म्याड्रिड, एसी मिलानजस्ता ठूला क्लब समावेश थिए ।
यसको विरोध गर्दै फुटबल प्रशंसक, खेलाडी, क्लबका व्यवस्थापकहरु आन्दोलनमा उत्रिएका थिए । प्रतियोगिताकाे घाेषणालगत्तै यसमा सहभागी हुने क्लब तथा खेलाडीलाई फिफा र युइएफएले विश्वकप र युरोपियन कप एवं कुनै पनि घरेलु खेल खेल्न प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।
सुपर लिगले अन्य च्यापियन्स लिगको तुलनामा क्लबहरुलाई उच्च राशी तोकेको थियो । यसमा जोडिएका संस्थापक क्लबलाई करिब ५ हजार करोड रुपैयाँ प्रदान गरिने भनिएको थियो, जुन रकम सन् २०२० च्याम्पियन्स लिग विजेताले पाउने पुरस्कारको तुलनामा चार गुणा धेरै छ ।
युरोपियन सुपर लिग घोषणा गरेका क्लबहरुले कोरोना महामारीका कारण युरोपेली फुटबलको आर्थिक मोडेल डगमगाउन पुगेकाले यसलाई बलियो बनाउन आर्थिक रणनीतिको आवश्यकता रहेको बताएका थिए । उनीहरुले युरोपेली फुटबलको ढाँचा मजबुत बनाउनका लागि यसो गरिएको प्रतिक्रिया दिएका छन् ।
छ वटा क्लबले नाम फिर्ता लिएपछि अब बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिड, युभेन्ट्स, इन्टर र एसी मिलान मात्र संस्थापक क्लबमा रहेका छन् । स्पानिस क्लब रियल मडरिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको अध्यक्षता युरोपियन सुपर लिग गठन गरिएको थियो । लिगअन्तर्गत २० क्लब प्रतिस्पर्धा गर्ने तयारी गरिएकाे थियाे ।
बेलायतका प्रधानमन्त्री बाेरिस जाेनसनले यसरी लिग आयाेजना गर्नु हानिकारक भएकाले यस कदमकाे समर्थन नगर्ने बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij