वेबटिभी खबर
मनाङ । जिल्ला प्रशासन कार्यालय मनाङले वर्षौंदेखि अलपत्र रहेका दुई मोटरेबल पुल निर्माण तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई गत फागुनमा निर्देशन दिएको थियो ।
जिल्लाको ङिस्याङ गाउँपालिका-४ हुम्डे र मुङ्जेमा मर्स्याङ्दी नदीमाथि निर्माणाधीन मोटरेबल पुल निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सम्पन्न नभएपछि प्रशासनले सम्बन्धित निर्माण व्यवसायी र सरकारी निकायलाई निर्देशन दिएको हो ।
तर प्रशासनले निर्देशन दिएको एक महिना हुँदासम्म पनि निर्माणाधीन मोटरेबल पुलको निमार्ण कार्य अझै सञ्चालन भएको छैन । सरकारी निकाय र निर्माण व्यवसायी दुवैले अख्तियारीको दुरूपयोग गरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताएका छन् ।
उनले भने, ‘ङिस्याङ-४ हुम्डे र मुङ्जेमा मर्स्याङ्दी नदीमाथि निर्माणाधीन मोटरेबल पुल वर्षौंदेखि अलपत्र अवस्थामा छ । सरकारी रकम खर्चेर तोकिएको समयमा काम गर्ने गराउने सम्झौता गरेका सरकारी निकाय र निर्माण व्यवसायी दुवैले समयमै काम सम्पन्न नगरी अख्तियारीको दुरूपयोग गरेको छ । यो चरम लापर्बाही भयो । हामीले दिएको निर्देशनसमेत मानेको छैन । अटेर गरेर बसेका छन् । पटकपटक तकेता गर्दै आए पनि ठेकेदारले मानेको छैन ।’
ङिस्याङ-४ हुम्डे र वडा नं ३ ङावल जोड्ने मर्स्याङ्दी नदीको मोटरेबल पुल र वडा नं-५ जोड्ने मुङ्जे खोलाको पुल वर्षौंदेखि निर्माण अलपत्र भएको छ । करिब पाँच वर्षअघिबाट निर्माण सुरु भएको हुम्डे ङावल पुलको करिब ७० प्रतिशत काम सकिएपछि दुई वर्षअघि भत्किएको थियो ।
काठमाडौँ स्थित निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले ४ करोड ५१ हजारको लागतमा निर्माण सुरु गरेको उक्त पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछि पुनः निर्माण सुरु गरे पनि हालसम्म सम्पन्न नभएको स्थानीयले बताएका छन् ।
पुल निर्माणका लागि निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले २०७३ सालमा तत्कालीन जिल्ला विकास समिति मनाङसँग सम्झौता गरेको थियो । संघीयता कार्यान्वयनसँगै २०७५ चैतबाट पुल अनुगमनको जिम्मा पूर्वाधार विकास कार्यालय लमजुङले लिएको थियो ।
यसपछि मनाङमै पूर्वाधार कार्यालय स्थापना भएपछि लमजुङबाट पनि जिम्मेवारी सरेको थियो । त्यसैगरी मनाङ्गो माथिल्लो क्षेत्र पुग्ने मुख्य मार्गअन्तर्गत मुङजेमा पनि वर्षौंदेखि निर्माणाधीन मोटरेबल पुल अलपत्र अवस्थामा छ ।
आर्थिक वर्ष २०७४/०७५ मा सम्झौता भई निर्माण सुरु भएका ती पुल निर्माण अवधि दुई वर्ष भए पनि चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । उक्त मोटरेबल पुल निर्माणका लागि स्वच्छन्दा क्याराभान जेभीले जिम्मा पाएको हो ।
कम्पनीले ९ करोड रकममा निर्माण गर्ने गरी सम्झौता गरेको थियो । कोरोना संक्रमण जोखिमसँगै सोही बहाना बनाएर कम्पनीले निर्माण अवधि लम्ब्याउँदै गएको स्थानीयले गुनासो गर्दै आएका छन् ।
पुल निर्माण ढिलाइ गर्ने र प्रशासनको निर्देशनसमेत नमान्दा प्रशासनले कानुनबमोजिम कडा कारबाही गर्ने पुनः चेतावनीका साथ निर्देशन दिएको छ । साथै उक्त दुवै पुलको काम यथाशीघ्र सुरु गरी समयमा काम सम्पन्न नगरेमा प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij