वेबटिभी खबर
ललितपुर । ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले आफूले प्रयोग गर्दै आएको सवारी साधन ललितपुर महानगरपालिकालाई फिर्ता गरेकी छिन् । उपप्रमुख सत्यालले आफूले प्रयोग गर्दै आएको बा २ झ ३६८२ नम्बरको सवारी साधन चैत ३० गते बुधबार महानगरपालिकालाई नै फिर्ता गरेकी हुन् ।
उपप्रमुख सत्यालको सवारी चालक हिरेन्द्र महर्जनले महानगरको जिन्सी शाखामा जानकारी गराएर बुधबार नै सवारी साधन फिर्ता गरेको ललितपुर महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख तथा बरिष्ठ अधिकृत सागर थापाले पुष्टि गरे । जिन्सी शाखाको समेत जिम्मेवारी सम्हालिरहेका थापाले भने, ‘निर्वाचनमा भएर उम्मेदवारी दर्ता नगरेसम्म उहाँले यो सवारी उपभोग गर्न पाउनु हुन्थ्यो । उम्मेदवार नभएको खण्डमा निर्वाचन नभएसम्म उहाँले प्रयोग गर्न पाउने हो । तर उहाँले आफ्नै खुसीले प्रयोग गर्न पाउने समय अघि नै सवारी फिर्ता गर्नु भएको छ ।’
बुधबारबाट नै उपप्रमुख सत्यालले आफ्नै निजी सवारी साधन उपयोग गरिरहेकी छिन् । उपप्रमुखमा निर्वाचित भएपछि सत्याललाई महानगरले सरकारी नम्बर प्लेट भएको सवारी साधन उपलब्ध गराएको थियो । चुनावी अभियान सुरु हुनै लाग्दा उपप्रमुख सत्यालले सरकारी सुविधाको सवारी फिर्ता गरेकी हुन् । उपप्रमुख सत्यालले भनिन्, ‘सरकारी नम्बर प्लेटको महानगरको सवारी प्रयोग गरेर पार्टीका चुनावी कार्यक्रममा जानु उपयुक्त पनि हुँदैन, फेरि एक महिना पछि भएपनि मैले उक्त सवारी फिर्ता गर्नैपर्छ । त्यसकारण किन ढिलासुस्ती गरेर बस्ने भन्ने लाग्यो र फिर्ता गरें।’
पाएसम्म सरकारी सुविधाको सवारी साधनको उपयोग र दुरुपयोग गर्ने परिपाटी रहिरहेको अवस्थामा ललितपुर महानगरपालिकाकी उपप्रमुख सत्यालले भने आफ्नो सुविधाको सवारी फिर्ता गरेर सकरात्मक सन्देश दिन खोजेकी छिन् । राज्यको सम्पत्ति दुरुपयोग गर्न हदैसम्मको निकृष्टता देखाउनेहरुका लागि एक महिना पदावधि बाँकी रहँदै सवारी साधन बुझाएको कुरा स्मरणीय र उदाहरणीय हुन पनि सक्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij