Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

धुलिखेल अस्पतालबाट ‘म्यामोग्राफी’ सेवा

धुलिखेल अस्पतालबाट ‘म्यामोग्राफी’ सेवा

  • 381
    SHARES
  • धुलिखेल अस्पतालबाट ‘म्यामोग्राफी’ सेवा

    काठमाडौं । स्तनमा हुने क्यान्सरको अवस्था पत्ता लगाउन गरिने परीक्षण विधिअन्तर्गतको ‘म्यामोग्राफी’ सेवा अब धुलिखेल अस्पतालबाट उपलब्ध हुने भएको छ ।

    यसअघि परीक्षण गर्ने म्यामोग्राम मेशिन नहुँदा भक्तपुर र काठमाडौं धाउनुपर्नेमा बाध्यता थियो अब, उक्त सेवा धुलिखेल अस्पतालबाटै उपलब्ध हुने भएपछि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको हो ।

    अस्पतालका प्रा.डा.सुमनराज ताम्राकारका अनुसार स्तन क्यान्सर सम्बन्धी जनचेतनाको कमी, गरिबी तथा शिक्षाको कमीका कारण नेपालमा ढिलो गरी मात्र रोगको पहिचान हुने गरेको छ ।

    रोग शरीरका अन्य भागमा फैलिसकेको अवस्था हुन सक्ने भएकाले बेलैमा उपचार गरी ढुक्क हुन हरेक महिलाले यसबारेमा थाहा पाउन र परीक्षण गर्न आवश्यक रहेको अस्पतालका डाक्टर ताम्राकारले बताए ।

    ‘शरीरको अन्य भागमा झैं स्तनका कोषहरूमा पनि असामान्य, अनियन्त्रित र अनावश्यक वृद्धि हुन गई गिर्खा, गाँठागुठी तथा निको नहुने घाउ बन्ने अवस्थालाई स्तन क्यान्सर भनिन्छ,’ उनले भने ।

    ‘उमेर ढल्किसकेका महिला, अनुवांशिक खराबी भएका, ढिलो विवाह गरी ढिलो बच्चा जन्माउने, कम उमेरमै महिनावारी सुरु भएका तथा ढिलो गरी मात्र महिनावारी भएका, अधिक धुम्रपान तथा मद्यपान गर्ने, चिल्लो तथा बोसोयुक्त खाना बढी सेवन गर्ने महिलामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ ।’

    शंका लागेर म्यामोग्राफी भनिने विशेष खालको स्तनको एक्स-रे गराएको खण्डमा स्तनको क्यान्सरको सुरुको अवस्था पत्ता लगाउन सक्ने भएकाले यसबाट बेलैमा उपचार गर्न नियमित रूपमा स्तन परीक्षण गराउन आवश्यक रहेको उनले बताए ।

    अस्पतलाका डा.सुनिला शाक्यले स्तन क्यान्सर हुने पूर्व अवस्था पत्ता लगाउने विधि नभएकाले त्यसबाट नियमित परीक्षण गरी बेलैमा सही उपचार गर्न सकिने भएकाले सो सेवा आवश्यक रहेको बताए । स्तनमा केही परिवर्तन देखिएमा समयमा नै परीक्षण गरी उपचार गराउन उनले सुझाव दिएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij