वेबटिभी खबर
धनगढी । धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ता गराउँदै हमालले धनगढीको विकासलाई नयाँ उचाइमा पुर्याउनु आफ्नो लक्ष्य रहेको बताए ।
उनले राजनीतिक दलहरूलाई विकासभन्दा पनि राज्यको स्रोत साधनको दुरुपयोग गर्दै बाँडिचुँडी खाने प्रवृत्ति रहेको भन्दै त्यसलाई निरुत्साहित गर्न पनि आफूले उम्मेदवारी दिएको बताए ।
आफूले जितेमा धनगढीलाई मोडेल सहरका रूपमा चिनाएर देखाउने उनले बताए । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि व्यवसायी हमालले धनगढीको मेयरमा साझा पार्टीबाट उम्मेदवारी दिएका थिए ।
तर उनी नृपबहादुर वडसँग २७ सय मतअन्तरले पराजित बनेका थिए । हमालसँगै विभिन्न वडाबाट पनि वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गाराएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij