Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

गाईपालनबाट आत्मसन्तुष्टि, इज्जत र आम्दानी कमाउँदै 

गाईपालनबाट आत्मसन्तुष्टि, इज्जत र आम्दानी कमाउँदै 

  • 444
    SHARES
  • गाईपालनबाट आत्मसन्तुष्टि, इज्जत र आम्दानी कमाउँदै 

    तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशको चर्को घाममा मजदुरी गर्थे ।

    विदेशमा उनको पसिना त्यसै खेर गइरहेको थियो । पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्केकन केसी पछिल्लो समय गाईपालनमा रमाइरहेका छन् । उनको आफ्नै गाईफार्म छ ।

    केसी दिनभर गाईको गोबर सोहर्न, गाईलाई दाना-घाँस खुवाउन, साँझ बिहान दूध दुन र बजारमा बेच्न व्यस्त हुन्छन् । बाह्र वर्ष विदेश बसेर नेपाल फर्केपछि सुरु गरेको यो कामले केसीलाई आत्मसन्तुष्टि, इज्जत र आम्दानी मिलेको छ ।

    केसी रोजगारकै सिलसिलामा तीन वर्ष मलेसिया, ६ वर्ष युनाईटेड अरब इमिरेटस्को दुबई र तीन वर्ष साउदी अरबमा बसेका थिए । ‘यति मेहनत नेपालमै गरे आफ्नै ठाउँमा आम्दानी गर्न सकिन्छ भनेर विदेशबाट फर्किए’, उनले भने ।

    केसीले २०७४ सालदेखि व्यवसायिकरूपमा गाईपालन गर्न सुरु गरेका हुन् । उनले विदेशमा कमाउने पैसा यही गाईपालनबाट कमाउन सफल भएका छन् । ‘मेहनत गरे नेपालमै मनग्य आम्दानी गर्न सकिँदो रहेछ, पसिना आफ्नै देशमा बगाउनुपर्दो रहेछ’, उनले भने, ‘अब विदेश जाने सोचै छैन ।’

    केसीले अहिले मासिक करिब १ लाख २० हजार बराबरको कारोबार गर्दै आएका छन् । सबै खर्च कटाएर उाले ५० हजारदेखि ८० हजारसम्म नाफा हुने गरेको  बताए । घर परिवारसँग पनि छुट्नु नपर्ने र आम्दानी हुने भएपछि यो पेसाबाट निकै सन्तुष्ट भएको उनको भनाइ छ ।

    केसीले स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको तुलसीपुर शाखाबाट ऋण लिएर गाईपालन सुरु गरेका हुन् । अहिलेसम्म उनले उक्त संस्थाबाट ५ लाखसम्म ऋण लिइसकेका छन् । हाल १८ गाई पाल्दैआएकोमा ७ वटा दुनो गाई छन् उक्त गाईबाट दैनिक ७० लिटरसम्म दूध उत्पादन हुन्छ ।

    उनले यस व्यवसायमा ३५ लाखको हाराहारीमा लगानी गरेको र लगाएको लगानी उठाइ सकेको उनी बताउछन् । लगानी उठेर चार कट्ठा जग्गा किनेको बेसीले बताए । उनले  १० हजार तलब दिएर एक कर्मचारीसमेत राखेका छन् ।

    दूध बिक्री गर्न बजारीकरणको समस्या छैन । ‘किसानलाई सरकारले कम्तीमा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ’, केसीले भने । उनले चितवनबाट एउटा गाई ८० हजारमा खरिद गरेर ल्याएका हुन् ।

    केसी गाईपालनमा मात्र नभएर बाख्रापालनमा पनि गरेका छन् । हाल उनको खोरमा २६ बाख्रा छन् । बाख्राबाट वार्षिक १ लाखसम्म आम्दानी हुने गरेको उनले बताए । यसलाई अझै व्यवस्थित बनाएर लैजाने केसीको योजना छ ।

    उनको यो व्यवसायबाट परिवार पनि खुसी छ । ‘श्रीमान् विदेश हुँदा घरमा एक्लै हुनुपथ्र्यो’, श्रीमती सरिताले भनिन्, ‘अहिले परिवारमा सँगै छौं, घर चलाउन पनि सजिलो भएको छ ।’  

  • सम्बन्धित विषय:

  • # गाईपालन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij