वेबटिभी खबर
काठमाडौं । सर्वोच्च अदालतले निलम्बित सांसद मोहम्मद अफ्ताव आलमलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ ।
व्यक्ति हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रौतहटको आदेशविरूद्ध आलमले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाई गर्दै सर्वोच्च अदालतले उनलाई थुनामुक्तकाे आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमको रिहाइको आदेश दिन अस्वीकार गरेको हो । जिल्ला अदालतको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेपछि आलम सर्वोच्च पुगेका हुन् ।
आफूलाई साधारण तारेखमा छाडेर बाहिर बसेर कानुनी लडाई लड्ने वातावरण बनाउन आफूलाई थुनामुक्त गर्न आदेश माग गर्दै आलमले सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्च अदालतले पनि उनलाई थुनामुक्तकाे आदेश दिन अस्वीकार गरेकाे छ ।
पहिलो संविधानसभा सदस्य निर्वाचनका बेला वि.स २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बनाउने क्रममा भएको विस्फोटमा परेर घाइते भएकालाई इँटा भट्टामा जलाएर हत्या गरेको आरोपमा आलमलाई २०७६ साल असोजमा पक्राउ गरिएको थियो ।
रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसदसमेत रहेका आमललाई २९ कात्तिक २०७६ मा जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij