वेबटिभी खबर
बग्दाद । इराकको राजधानी बग्दादस्थित इबन अल खातिभ अस्पतालका कोरोना भाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर ८१ जना बिरामीको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।
स्वास्थ्य अधिकारीहरुका अनुसार अक्सिजन सिलिन्डर बिस्फोटबाट आगलागी सुरु भएको थियो । उक्त अस्पतालमा अग्निनियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका प्रज्ज्वलनशील अरु सामानहरुमा आगो तत्कालै सल्किएको थियो ।
आगलागी भएका समयमा आइसियूमा ३० जना संक्रमित उपचाररत थिए । अस्पताल प्रशासनका अनुसार अधिकांश बिरामीलाई अन्यत्र सार्नु परेको र भेन्टिलेटर हटाउँदा बिरामीको ज्यान गएको हो । कतिपयको धुँवाले निस्सासिएर मृत्यु भएको बताइएकाे छ ।
घटनापछि प्रधानमन्त्री मुस्तफा अल खादमीले बग्दाद स्वास्थ्य विभागका महानिर्देशकलाई पदमुक्त गरेका छन् । उनले अस्पतालको लापरवाहीले यस्तो दुखद घटना भएको भन्दै अस्पतालले गरेको गल्ति नभएर अपराध भएको बग्दाद अपरेशन कमान्डसँगको बैठकमा बताएका थिए ।
त्यहाँको मानवअधिकार आयोगले स्वास्थ्य मन्त्री हसन अल तामिमीलाई हटाउन माग गरेको छ । प्रधानमन्त्री खादमीले तीन दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij