वेबटिभी खबर
काठमाडौं । काठमाडौंको शंखपार्कमा शारीरिक व्यायामस्थल (जिम सेन्टर) को शुभारम्भ भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्य र हरिप्रभा खड्गीले जिम सेन्टरको शुभारम्भ गरेका हुन् ।
‘हामी सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने र पार्कमा बहुउपयोगी बनाउने योजनाअनुसार काम गरिरहेका छौं । यसको प्रयोगकर्ताबाट प्राप्त हुने सुझावका आधारमा अन्य पार्कमा पनि सेवा विस्तार गर्नेछौं, शुभारम्भपछि बोल्दै मेयर शाक्यले भने ।
जिम सेन्टर उद्घाटनमा बोल्दै मेयर शाक्यले अतिक्रमित सार्वजनिक जग्गालाई पहिचान गर्ने, अतिक्रमण हटाउने र सार्वजनिक उपयोगमा ल्याउने काममा प्रगति भएको बताए ।

उक्त कार्यक्रममा उपप्रमुख खड्गीले पार्कसंस्कार जोगाउन सके सामाजिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताइन् ।
‘हामी योजनावद्ध रूपमा पार्क निर्माण गरिरहेका छौं । व्यवस्थित पार्कले स्थानीयको शारीरिक र मानसिक स्वास्थ्यलाई ठीक बनाउँछ, यी उपकरणको प्रयोग यसकालागि गरिनु पर्छ,’ उनले भनिन् ।
उक्त जिमसेन्टरमा व्यायामका लागि एव्डोमिनल फिटनेट कम्बाइनेसन, एअर वाकर, डबल सर्फोर्ड, सिङ्गल रोइङ् मेसिन, डबल स्लिट्स मेसिन, लेग एक्स्टेक्सन एण्ड फिटनेस राइडर, स्डान्डिङ् एण्ड सिटिङ् ट्वीस्टर, पुस अप एण्ड डिपस्टेशन र लेग लिप्टरलगायतका करिब ८ लाख रुपैयाँबराबरका सामान तथा उपकरण राखिएको महानगरपालिकाले बताएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij