वेबटिभी खबर
जुम्ला । जुम्लाको ८ स्थानीय तहमध्ये ५ तहमा नेपाली कांग्रेसले र २ तहमा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ भने यहाँको एकमात्र चन्दननाथ नगरपालिका स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
उक्त नगरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले २ हजार ४०३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका पदमबहादुर शाहीले २ हजार ३४१ मत प्राप्त गरे । कांग्रेसले हिमा, कनकासुन्दरी गाउँपालिकामा उपाध्यक्ष र चन्दननाथ नगरमा उपप्रमुख जितेको हो ।
यस्तै, माओवादीले तिला, सिंजा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षसहित जित हासिल गरेको छ । तातोपानी, पारारासी गाउँपालिकाको उपाध्यक्ष पनि माओवादीले जितेको हो । नेकपा एकीकृत (समाजवादी) पार्टीले जिल्लाको गुठीचौर गाउँपालिकाको उपाध्यक्ष मात्र जितेको छ ।
२०७४ को निर्वाचनमा माओवादीले तीन अध्यक्ष र पाँच उपाध्यक्ष जितेको थियो । एमालेले तिला गाउँपालिको अध्यक्ष र सिंजा गाउँपालिकाको उपाध्यक्ष जितेको थियो । जिल्लामा अहिले एमालेले आफ्नो विरासत गुमाएको छ ।
जिल्लाको हिमा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुन्दर लक्ष्मण शाहीले पदभार ग्रहण गरेका छन् । शपथग्रहण लगतै अध्यक्ष शाहीले गाउँपालिकाका सम्पूर्ण घरपरिवारका नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेका छन् ।
६० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, गरिब विपन्न, अपाङ्गता भएका तथा असहाय व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको शाहीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij