वेबटिभी खबर
काठमाडौं । चितवनकाे भरतपुर महानगरपालिकामा हालसम्म १९ वडाको मतगणना सकिएको छ । अहिले २० र २१ को गणना भइरहेको छ ।
महानगरमा २९ वडा छन् । १९ वडाको मतगणना सकिँदा मेयरमा उमेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहालले ३६ हजार ७९७ मत ल्याएकी छन् ।
पाँच दलीय गठबन्धनकोतर्फबाट उमेदवार बनेकी दाहालले एमालेबाट मेयरमा उम्मेदवारी दिएका विजय सुवेदीलाई ७ हजार ९७६ मतलेपछि पार्दै अग्रतालाई फराकिलो बनाउँदै लगेकी छिन् ।
सुवेदीले भने २८ हजार ८२१ मत प्राप्त गरेका छन् । २०७४ सालको निर्वाचनमा मतगणनाका क्रममा मत च्यातिएको वडानम्बर १९ को अध्यक्षमा एमालेका प्रकाश तामाङ निर्वाचित भएका छन् ।
कांग्रेसको पकड क्षेत्रका रुपमा लिइने यस वडामा तामाङले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका द्रोणबहादुर गुरुङलाई पराजित गरेका हुन् । वडामा ३ हजार ४८८ मत खसेको थियो ।
२०७४ को निर्वाचनमा वडानम्बर १९ को मतगणनाका क्रममा माओवादीका कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानले मतपत्र च्यातेपछि यस वडामा पुनः मतदान भएको थियो । मतपत्र च्यात्ने सिवाकोटी र न्यौपानेलाई अदालतले जनही एक-एक लाख जरिवाना तिराएको थियो ।
पुनः मतदान भएपछि यस वडामा कांग्रेसका कर्णबहादुर गुरुङसँग ३८१ मतान्तरले पराजित भएका प्रकाश तामाङ अहिले गठबन्धनका साझा उम्मेदवारसँग एक्लै प्रतिस्पर्धा गरेर विजयी भएका हुन् ।
वडा सदस्यहरुमा तीन जना एमाले र एक जना कांग्रेसबाट निर्वाचित भएका छन् । भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म ९३ हजार ७३२ मत गनेर सकिएको छ ।
अब ३४ हजार १०७ मत गन्न बाँकी छ । हालसम्म कांग्रेसले ११, एमालेले पाँच, एकिकृत समाजवादीले दुई र माओवादी केन्द्रले एक वडा जितेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij