Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

पर्वतका ६१ वडा अध्यक्षमा महिलाको संख्या शून्य

पर्वतका ६१ वडा अध्यक्षमा महिलाको संख्या शून्य

  • 549
    SHARES
  • पर्वतका ६१ वडा अध्यक्षमा महिलाको संख्या शून्य

    पर्वत । पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडा अध्यक्षका पदमध्ये कुनैमा पनि महिला निर्वाचित हुन सकेनन् । सबै  वडा अध्यक्षमा पुरुष नै निर्वाचित भएका हुन् ।

    विहादी गाउँपालिका–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र कुश्मा नगरपालिका–११ पकुवामा गठबन्धनबाटै माओवादी केन्द्रकी लीला दवाडी उम्मेदवार बनेकी थिइन् । जिल्लाभर दुई जनामात्रै वडा अध्यक्षको उम्मेदवार बने पनि पराजित भएका थिए । 

    विहादी १ मा नेकपा एमालेका चित्रबहादुर गुरुङसँग खड्का पराजित भइन् भने कुश्मा–११ मा पनि एमालेकै बाबुराम पौडेलसँग दवाडी पराजित भएकी हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा कुश्मा–४ र ५ मा नेपाली कांग्रेसको तर्फबाट क्रमशः मीना कर्माचार्य र चित्रकला शर्मा भारती निर्वाचित भएका थिए ।

    यस पटक भने वडा अध्यक्षमा महिलाको सहभागिता शून्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । महिला उम्मेदवारको संख्या नै कम रहेको र महिला उठेका पनि विजयी हुन नसकेकाले ६१ वडाका अध्यक्षमा महिलाको प्रतिनिधित्व हुन नसकेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताए  ।

    जिल्लामा एउटा पालिकाले भने महिला नै प्रमुख पाएको छ । मोदी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार बनेकी हीरादेवी शर्मा अध्यक्षमा निर्वाचित भएकी हुन् ।  उक्त गाउँपालिकामा एमालेकै उम्मेदवार बिमल लामिछाने पनि उपाध्यक्षमा निर्वाचित भएका छन् । गठबन्धनका कारण प्रमुख र उपप्रमुखमा जलजला गाउँपालिकाले महिलालाई पाउन सकेन ।

    जलजलाको अध्यक्ष र उपाध्यक्षमा दुवै पुरुष निर्वाचित भए । कांग्रेसको तर्फबाट उम्मेदवार बनेका राजु आचार्य र माओवादीबाट उपाध्यक्षको उम्मेदवार बनेका दीपक आचार्य विजयी भएपछि उपाध्यक्षमा महिलाको स्थान गुमेको हो ।

    जिल्लाका बाँकी पाँच स्थानीय तहमा भने उपप्रमुख/उपाध्यक्ष महिलानै विजयी भए  । फलेवास नगरपालिकामा माओवादी केन्द्रबाट शोभा क्षेत्री, विहादीमा एमालेकी मीना तिवारी, पैँयू गाउँपालिकामा एमालेकै यामकुमारी राना र महाशिला गाउँपालिकामा पनि एमालेबाटै उम्मेदवार बनेकी धनशोभा विक विजयी भए ।

    जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकमा महिला उपप्रमुख वा उपाध्यक्ष छन् भने बाँकी दुई पालिकामा पुरुष उपाध्यक्षमा निर्वाचित  भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij