वेबटिभी खबर
जाजरकोट । स्थानीय तहको निर्वाचनको मत परिणमाले कर्णाली प्रदेशमा दलहरूको कुनै ठाउँमा प्रभाव खस्किएको छ भने कत्तै बढेको पाइएको छ ।
प्राप्त मत परिणाम अनुसार कांग्रेस पहिलोमा, नेकपा (माओवादी केन्द्र) दोस्रोमा र नेकपा एमाले तेस्रो स्थानमा पुगेका छन् भने केही स्वतन्त्र उम्मेदवार पनि विजय भएका छन् ।नेपाली कांग्रेसले स्थानीय तहको चुनावलाई भरपुर सदुपयोग गरेको पाइएको छ ।
डोल्पामा प्रभाव नभएको कांग्रेसले अहिले ठूलीभेरी नगरपालिका जितेको छ । जाजरकोटमा दुई पालिकामा मात्र सीमित कांग्रेस अहिले तीन पालिकामा फराकिलो भएको छ ।
अघिल्लो चुनावमा रूकुम पश्चिममा एक पालिका नजितेको कांग्रेसले अहिले दुई पालिकामा जित हात पारेको छ । २०७४ मा २४ पालिकामा मात्र जितेको कांग्रेसले अहिले ३२ पालिकामा जित हात पारेको छ ।
रूकुम पश्चिमका २, सुर्खेतका ४, जाजरकोटका ३, हुम्लाका ३, कालिकोटका २, जुम्लाका ५, मुगुका २, डोल्पाका १, सल्यानका ५ र दैलेखका ५ पालिकाको नेतृत्व लिन कांग्रेस सफल भएको हो ।
यस प्रदेशमा नेपाली कांग्रेसबाट प्रमुखमा १२, अध्यक्षमा २०, उपप्रमुखमा १०, उपाध्यक्षमा १७, वडाध्यक्षमा २५३, महिला सदस्यमा २५३, दलित महिला सदस्यमा २१७, वडा सदस्यमा ४६८ गरी कूल १ हजार २५० उम्मेदवार निर्वाचित भएका हुन् ।
माओवादी केन्द्रले पहिला प्रभाव रहेका पालिकामा अहिले हार व्यहोर्नु परेको छ । जुम्लाको गुठीचौर, जाजरकोटको जुनिचाँदे, रुकुम पश्चिको बाँफीकोट, मुसिकोट लगायतस्थानमा हार व्यहोर्नु परेको हो ।
२०७४ मा २६ पालिकामा जितेको माओवादीले अहिले तीन पालिकामा प्रभाव गुमाएर २३ स्थानमै चित्त बुझाउनु परेको छ । उक्त दलले रूकुम पश्चिमका १, सुर्खेतका १, दैलेखका २, जाजरकोटका १, हुम्लाका ३, कालिकोटका ५, जुम्लाका २, मुगुका १, डोल्पाका २ र सल्यानका २ पालिकाको नेतृत्व लिएको हो ।
२०७४ को निर्वाचनमा एउटा पनि पालिका नजितेको माओवादीले यसपटक दैलेखमा दुई र सुर्खेतमा एक पालिकामा विजय हासिल गरेको छ । उक्त दलबाट पाँच प्रमुख, १८ अध्यक्ष, पाँच उपप्रमुख, २०उपाध्यक्ष, २२३ वडाध्यक्ष, २१५ महिला सदस्य, २२२ दलित महिला सदस्य, ४१५ वडासदस्य गरी कूल १ हजार १२३ उम्मेदवार निर्वाचित भएका छन् ।
नेकपा (एमाले)बाट ६ प्रमुख, ९ अध्यक्ष, ८ उपप्रमुख, १२ उपाध्यक्ष, १८४ वडाध्यक्ष, १९१ महिला सदस्य, १९२ दलित महिला सदस्य, ४३५ वडासदस्य गरी कूल १ हजार ३७ उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन मतपरिणम अनुसार नेकपा एमालेलाई सबैभन्दा ठूलो क्षति भएको छ ।
२०७४ को निर्वाचनमा २६ पालिकाको नेतृत्व लिएर पहिलो दल बनेको एमाले यसपटक तेस्रो स्थानमा खुम्चिएको छ । एमालेले कर्णालीका कालिकोट, हुम्ला, मुगु, जुम्ला र रुकुम पश्चिमका कुनै पनि पालिकाको नेतृत्व लिन सकेन तर सुर्खेतका ४, दैलेखका ४, जाजरकोटका ३, डोल्पाका २ र सल्यानका २ पालिकाको मात्र नेतृत्व पाएको छ ।
नेकपा (एकीकृत समाजवादी)ले डोल्पाका २, मुगु र सल्यानका एक/एक पालिकाको नेतृत्व पाएको छ । उक्त दलबाट ४ अध्यक्ष, २ उपप्रमुख, ४ उपाध्यक्ष, २९वडाध्यक्ष, ३८ महिला सदस्य, २८ दलित महिला सदस्य र ७४ वडासदस्य गरी कूल १७९ उम्मेदवार निर्वाचित भएका छन् ।
नेपाल मजदूर किसान पार्टीबाट ७ वडाध्यक्ष, ७ महिला सदस्य, ६ दलित महिला सदस्य, ११ वडासदस्य गरी कूल ३१ उम्मेदवार निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ वडाध्यक्ष, २ महिला सदस्य, १ दलित महिला सदस्य, वडा सदस्य ७ गरी कूल ११ उम्मेदवार निर्वाचित भएका छन् ।
यस पटकको निर्वाचनमा हुम्लाको चङ्खेली गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
२०७४ को निर्वाचनमा सल्यानमा एक र डोल्पाका तीन पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । यो पटक स्वतन्त्रबाट प्रमुख पदमा दुई, अध्यक्षमा ३, उपाध्यक्षमा १, वडाध्यक्षमा २०, महिला सदस्यमा ९, दलित महिला सदस्यमा १०, वडा सदस्यमा २३ गरी कूल ६८ उम्मेदवार निर्वाचित भएका छन् ।
यस प्रदेशका प्रमुख पदमा २५, अध्यक्षमा ५४, उपप्रमुखमा २५, उपाध्यक्षमा ५४, वडाध्यक्षमा ७१७, महिला सदस्यमा ७१६, दलित महिला सदस्यमा ६७७, वडा सदस्यमा एक हजार ४३३ गरी कूल ३ हजार ७०१ उम्मेदवार निर्वाचित भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij