वेबटिभी खबर
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको मंगलबार परेको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको इजलासमा तोकिएको छ ।
सरकारले आइजिपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआइजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले वरिष्ठता क्रममा तेस्रो व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
आजदेखि सुनुवाइ हुन लागेको उक्त मुद्दामा प्रहरी नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षक बढुवाविरुद्ध परेको रिट निवेदनलाई साथै राखेर सुनुवाइका लागि पेसी तोकिएको छ ।
यसअघि वैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले मुद्दाको अन्तिम सुनुवाइ जेठ १७ गतेदेखि हुने आदेश दिएको थियो । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख थियो । सोही आदेशानुसार सुनुवाइ तय भएको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पोखरेलले दायर गरेकाे रिट निवेदनसँगै सिंहसहित तीन जनालाई एआइजी बढुवा गर्ने निर्णयविरुद्ध तीन जना डिआइजीले दायर गरेको रिटलाई साथै राखिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij