वेबटिभी खबर
काठमाडौं । बाग्मती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूध र पशु स्रोत केन्द्रलाई विनियोजन गरेको अनुदान रकम आगामी असारभित्र नै उपलब्ध गराउने गरी काम अघि बढाएको छ ।
पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयमार्फत दिइने उक्त अनुदानबाट प्रदेश भित्रका १ लाखभन्दा बढी कृषक प्रत्येक्षरूपमा लाभान्वित हुनेछन् ।
मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेका अनुसार दूधको अनुदानका लागि १६ करोड र पशु स्रोत केन्द्रका लागि १ करोड ६० लाख अनुदान रकम विनियोजन गरिएको छ ।
डा.पाण्डेले भने, ‘असारभित्रै हामी अनुदान रकम बाँड्ने गरी काम गर्दैछौं ।’ निर्देशनालयमा रहेका केही कर्मचारीले प्रक्रिया अघि नबढाएपछि कृषकको चौतर्फी दबाब परेको थियो।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेका अनुसार निर्देशनालयका कर्मचारीले काम नगरेका कारण प्रक्रिया अघि बढ्न ढिला भएको थियो । काम नगर्ने कर्मचारीलाई सरुवा गरेर अन्य कर्मचारी पठाउन दबाब दिएकै कारण निर्देशनालयले काम अघि बढाएको उनले बताए ।
दूध अनुदानमा गत वर्ष चितवनका किसानले ८ करोड पाएका थिए । चितवनमा यस वर्ष १०४ सहकारी संस्थाले अनुदानका लागि आवेदन दिएका छन् । बगालेले भने, ‘आधाभन्दा बढी अनुदान रकम चितवनका किसानले पाउँछन् ।’
निर्देशनालयले दूधमा गत वर्ष प्रतिलिटर २ अनुदान दिएको थियो । त्यसका लागि कम्तीमा २२ करोड आवश्यकपर्ने उनले बताए । गत वर्षको जति नपाएपछि केही कम रकम पाउनेमा अब ढुक्क भएको उनको भनाइ छ ।
आफूहरूले दबाब नदिएको भए कृषक अनुदान पाउनबाट बञ्चित हुने अवस्थामा पुगिसकेको उनी बताउछन् । सचिव पाण्डेले काम नगर्ने कर्मचारी सरुवा गरेपछि निर्देशनालयका कर्मचारीले अनुगमन थालेकाले असार लागेसँगै अनुदान रकम भुक्तानी गर्न सकिने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij