Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

घडियाल प्रजनन केन्द्रमा ४९६ गोहीका बच्चा 

घडियाल प्रजनन केन्द्रमा ४९६ गोहीका बच्चा 

  • 541
    SHARES
  • घडियाल प्रजनन केन्द्रमा ४९६ गोहीका बच्चा 

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् । नारायणी र राप्ती नदी किनारमा संकलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् ।

    गत वैशाख १० देखि १३ गतेसम्म ती दुई नदीबाट अण्डा संकलन गरिएको थियो । निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका ६ गुडबाट अण्डा संकलन गरिएको हो ।

    असारको पहिलो साताबाट बच्चा कोरलिन थालेका हुन । संकलन भएका अण्डामध्ये २० वटालाई इन्कुभेटरमा राखिएकामा १४ बच्चा निस्किएका थिए । बाँकी बालुवामा राखिएको पौडेलले बताए ।

    राप्ती नदीमा ६ वटा र नारायणीमा ५ वटा बच्चा छाडिएका थिए । तीमध्ये राप्तीको खोरसोर नजिक दूधौरामा ११० बच्चा देखिएका छन् । नारायणीमा पनि बच्चा देखिएको उनले जानकारी दिए ।

    पौडेलले भने, ‘एकीन तथ्यांक त आएको छैन, हाम्रो अनुमानमा २०० भन्दा बढी गोहीका बच्चा प्रकृतिमा रहेका छन् ।’ प्रकृतिमा संकलन गरेको गोहीका अण्डाबाट यति धेरै बच्चा कोरलिएको सम्भवतः यो पहिलो भएको पौडेल बताए ।

    गतवर्ष प्रकृतिमा संकलन गरिएका ४३६ अण्डाबाट २५८ बच्चा कोरलिएका थिए । प्रजनन केन्द्रमा रहेका गोहीबाट यस वर्ष हालसम्म बच्चा कोरलिएका छैनन् । गएका दुईवर्ष प्रजनन केन्द्रमा माउले अण्डा पारेको भए पनि बच्चा कोरलिएको थिएन ।

    पौडेलको भनाइमा यसवर्ष पनि ७/८ वटा गुड देखिए पनि बच्चा कोरलिएको छैन । यस वर्षसमेत सम्भावना घटेर गएको छ । प्रजनन केन्द्रमा एउटा भाले र ठूला १२ पोथी रहेका छन् । भाले ४३ वर्षको हो भने पोथी ४० वर्ष हाराहारीको हो ।

    प्रजनन हुननसकेका कारण बच्चा नकोरलिएको अनुमान छ । प्रजनन केन्द्रमा तीसहित ५३१ साना गोही रहेका छन् । राप्ती र नारायणी नदीमा पाँच भाले गोही देखिएका छन् । नदीमा भाले गोही नदेखिएपछि केही वर्षअघि बबईबाट एउटा भाले ल्याइएको थियो ।

    राप्ती र नारायणी नदीमा अण्डा संकलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छोड्ने गरिएको छ । हालसम्म राप्ती, नारायणी, कोसी र बबई नदीमा १ हजार ६९२ गोही छाडिसकिएको छ ।

    निकुञ्जले २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ । हरेक वर्ष बाढीले बगाएर गोही भारत पुर्‍याउने गर्दछ ।यध्यपि संरक्षण कार्यलाई निकुञ्जले निरन्तरता दिएको छ ।

    राप्ती नदी गोहीका लागि राम्रो मानिएको छ । नदी किनारमा बसोबास गर्नेहरुले माछा मार्ने क्रममा ठूला जाल हान्दा अड्किएर गोही मर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए ।

    अनुमतिपत्र लिएकालाई हाते जाल प्रयोग गर्न दिइएको भए पनि ठूला तिहारी जाल प्रयोग गर्दा गोही अड्कीएर मर्ने गरेको उनको भनाइ छ । विगतमा नारायणी नदीको देवघाटसम्म गोही पाइने गर्दथ्यो । नदी प्रदूषित बन्दै गएपछि गोहीको संख्या घट्दै गएको आचार्यले बताए ।

    उनले भने, ‘हामी सबैले संरक्षणमा ध्यान दिन सकेमा गोहीको संख्या बढाउन सकिन्छ ।’ नदी प्रदूषण रोक्न, जथाभावी नदीजन्य पदार्थ उत्खनन नगर्न र ठूला जाल प्रयोग नगर्न आचार्यको सुझाव छ ।

    अहिले प्रजनन भएका गोहीका बच्चा केन्द्रमा राखेर पाँच वर्ष कटेपछि नदीमा छाडिने छ । चालू आर्थिक वर्षमा १०७ गोही नारायणी, कोशी र राप्ती नदीमा छाडिएको छ । नारायणी र कोशीमा २०/२० गोही छाडिएको हो भने अरु गोही राप्तीमा छाडिएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij