Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

हत्या आरोपमा दुईजना पक्राउ

हत्या आरोपमा दुईजना पक्राउ

  • 372
    SHARES
  • हत्या आरोपमा दुईजना पक्राउ

    सर्लाही । सर्लाही जिल्लाको कविलासी नगरपालिका-८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित एक जनालाई पक्राउ गरेको छ ।

    कविलासी नगरपालिका-८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र ठाकुरको घाँटी रेटेर विभत्स ढंगले हत्या गरिएको अवस्थामा यही असार ७ गते बिहान शव फेला परेको थियो ।

    प्रहरीले अमरेन्द्रको हत्यामा संलग्न रहेको आरोपमा उनकै सहोदर भाइ अमरकान्त ठाकुर र सोही ठाउँका रूपेशकुमार चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    अमरकान्तले रूपेशसँग मिलेर दाई अमरेन्द्रको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीण पोख्रेलले जानकारी दिए ।

    उनका अनुसार मृतक अमरेन्द्र र भाइ अमरकान्तबीच पहिलेदेखि नै विवाद भइरहने गरेको र असार ६ गते बेलुका पनि उनीहरू दुईबीच तरकारी ल्याउने विषयमा सामान्य विवाद भएपछि भाइ अमरकान्तले गाउँकै साथी रुपेशसँग मिलेर दाई अमरेन्द्रको हत्या गरेका खुलेको हो ।

    उनीहरूले अमरेन्द्रलाई असार ६ गते राति करिब ८ बजे खानपिनको व्यवस्था छ, भनी अगर्वा चोकबाट पश्चिम सलेमपुर नहरतर्फ जाने कच्ची सडकको एकान्त ठाउँमा बोलाएर धारिलो हतियारले घाँटी रेटेर र शरीरका विभिन्न भागमा ढुंगा प्रहार गरेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    घटनाको अनुसन्धान गर्दै जाँदा मृतकका भाई अमरकान्तले शंकास्पद व्यवहार देखाउन थालेपछि उनलाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरू दुवैविरूद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij