वेबटिभी खबर
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नवीन पाँडेलाई नियुक्त गर्दा विधान नमिचेको बताएको छ ।
बूढानीलकण्ठस्थित पार्क भिलेजमा ६ असारमा भएको एन्फाको चुनावी साधारण सभाले पंकज विक्रम नेम्बाङलाई नयाँ अध्यक्षमा घोषणा गरेको थियो ।
दुई दिनपछि शपथसँगै बसेको एन्फाको कार्यसमिति बैठकले पाण्डेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्ति गरेको थियो । जर्मन नागरिक पाण्डेको नियुक्तिसँगै चौतर्फी आलोचना भएपछि एन्फाले सोमबार सूचना जारी गर्दै स्पष्टोक्ति दिएको हो ।
‘पाँडेको नियुक्तिलाई लिएर उठेका केही सवालहरूबाट यस संघको ध्यानाकर्षण भएको छ । सो निर्णय दाबी गरे अनुरूप विधान विपरीतको नभएको जानकारी गराउन चाहन्छौं । पाँडेले यस संघबाट कुनै तलब सुविधा नलिई स्वैच्छिक रूपमा सो पदमा रहने कुरा पनि जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।
एन्फाको अन्तर्राष्ट्रिय प्रमुख भएसँगै पाण्डे भने हिजो (आइतबार) नै जर्मन प्रस्थान गरिसकेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij