वेबटिभी खबर
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले आज पदभार ग्रहण गरेका छन् । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका खापुङ आज स्वास्थ्यमन्त्री पदमा नियुक्त भएका हुन् ।
पदभार ग्रहण गर्दै उनले नेपाल सरकारले ग्लोबल फण्डका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राले जानकारी दिइन् । स्वास्थ्यमन्त्री खापुङले जनतालाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउन पहल गर्ने बताए ।
दुर्गम क्षेत्रमा उपचार नपाएकाका लागि लक्ष्य गरेर गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने उनको भनाइ छ । उक्त निर्णय मन्त्रिपरिषद् पठाएपछि कार्यान्वयन हुने मन्त्रालयकी प्रवक्ता डा.मिश्राले जानकारी दिइन् ।
उनले ग्लोबल फण्डको कार्यक्रम २०२४ देखि सरकारको मातहतमा ल्याउने र त्यसका लागि सचिवालयसमेत स्थापना गर्ने बताइन् । सोही अवसरमा स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले पनि पदभार ग्रहण गरेका थिए ।
राज्यमन्त्री केसी २०७४ सालको संघीय निर्वाचनमा दाङ क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । सोही अवसरमा निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले नवनियुक्त मन्त्री खापुङ र राज्यमन्त्री केसीलाई स्वागत गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij