वेबटिभी खबर
चितवन । मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार वटा बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ ।
निकुञ्जले यस वर्ष ६ वटा बाघ नियन्त्रणमा लिएकोमा ४ बाघ छाडेको जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यस आर्थिक वर्ष २०७९/८० मा ४ वटा बाघ छाडिए पनि अझै ३ वटा बाघ निकुञ्जको खोरमै रहेको जानकारी दिए ।
उनले भने, ‘बाँकी रहेका तीन बाघ नरभक्षी भएकाले छाडिएको छैन ।’ जंगलमा लगेर छाडिएको बाघको घाँटीमा स्याटेलाइट कलर जडान गरिएको पनि संरक्षण अधिकृत आचार्यले बताए ।
बाघको घाँटीमा स्याटेलाइट कलर जोडेपछि उक्त बाघ कहाँ कुन अवस्थामा छ भन्ने कुरा सफ्टवेयरको माध्यमबाट निकुञ्जमै बसेर जानकारी लिन सकिने उनले जानकारी दिए ।
खोरमा बाँकी रहेका तीनवटामध्ये एउटा बाघ बाँकेबाट ल्याइएको हो भने दुई बाघ चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । छाडिएको बाघलाई मानिसको नजिक राखेर बानी-व्यवहार अध्ययन गरेपछि मात्र छाडिएको संरक्षण अधिकृत आचार्यको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मानिससँग जम्काभेट भएर आक्रमण गरेका बाघलाई मात्र छाडिएको जानकारी दिए ।
‘हामीले जनदबाबमा समातेका सबै बाघ नरभक्षी हुँदैनन् त्यसैले उनीहरूको आनीबानी, उमेर, व्यवहारको अध्ययन गरेर नरभक्षीबाहेकका बाघलाई जंगलमा लगेर छाड्ने गरेका छौं’, उनले भने ।
उनीहरूको क्रियाकलापलाई अवलोकन गर्न स्याटेलाइट कलर घाँटीमा जडान गरिएको उनले बताए । निकुञ्जको मुख्यालय कसारमा दुई र निकुञ्जको पूर्वी सेक्टर सौराहामा दुई गरी चारवटा मात्रै बाघ राख्न मिल्ने खोर छन् ।
थप केही खोर बन्ने चरणमा छन् । चालु आर्थिक वर्षमा मात्र चितवनमा बाघको आक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ भने ११ बढी मानिस घाइते भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij