वेबटिभी खबर
रोल्पा । रोल्पाको रून्टीगढी गाउँपालिकाले तरकारी उत्पादक कृषकबाट लिँदै आएको कर छुट गरेको छ । यस क्षेत्रका तरकारी उत्पादक कृषकले स्थानीय करकोरूपमा तरकारी कर बुझाउँदै आएका थिए ।
तरकारी उत्पादक कृषकले यसअघि प्रतिकिलो ५० पैसाका दरले तरकारी कर तिर्ने गर्दथे । अघिल्लो कार्यपालिकाको सो निर्णयलाई वर्तमान कार्यपालिकाले परिवर्तन गरेको हो ।
नीति तथा कार्यक्रममा कृषकले तिर्दै आएको उक्त कर नलिने निर्णय भएको छ । उक्त निर्णय नयाँ आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ । यस क्षेत्रका कृषकले वार्षिक १० लाख किलोभन्दा बढी तरकारी उत्पादन गर्दै आएका छन् ।
गाउँपालिका अध्यक्ष जनक पुनले आम्दानीको मुख्य स्रोतकोरूपमा रहेको तरकारी खेतीमा कृषकलाई लगाइदै आएको कर नलिने निर्णय गरेको बताए । गाउँपालिकामा टमाटर, बन्दा, खुर्सानी, भान्टा, सिमीजस्ता मौसमी र बेमौसमी तरकारी अत्यधिक उत्पादन हुने गर्दछ ।
यहाँ उत्पादित तरकारी दाङको घोराही, तुलसीपुर, बुटवल, नेपालगञ्जलगायतका सहरमा जाने गर्दछ । गाउँपालिकाको यो निर्णयले कृषकलाई राहत पुग्ने कृषक जयबहादुर बस्नेतले बताए ।
रून्टीगढीका अधिकांश वडा तथा त्रिवेणी गाउँपालिकाको बूढागाउँ, नुवागाउँ, जुगारलगायतका क्षेत्रलाई तरकारीको भण्डार मानिन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij