वेबटिभी खबर
झापा । झापामा टनेलभित्र रायो साग फस्टाएको छ । कृषि ज्ञान केन्द्रले टनेल बनाउन अनुदानसमेत दिएपछि किसान प्रोत्साहित भएका छन् ।सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गर्छ । तर यसको बजार माग बाह्रै महिना उच्च रहेका कारण झापाका किसानले बर्खे मौसममै आधुनिक प्रविधिबाट अग्र्यानिक रायो साग उत्पादन गरेर लाभ लिन थालेका छन् ।
पुनम कृषि फार्ममार्फत बिर्तामोड नगरपालिका–७ की पुनम तिम्सिनाले १५ दिनको अन्तरालमा रु एक लाख ५० हजारको बर्खे रायो साग बिक्री गरेको बताइन् । कृषि ज्ञान केन्द्र झापाले टनेल निर्माणका लागि फार्मलाई ५० प्रतिशत रकम अनुदान दिएको छ । अनुदान पाएपछि उत्साही भएर रायो सागको खेती विस्तार गरिरहेको उनले बताइन् ।
बेर्ना लगाएको एक महिनामै बिक्रीका लागि तयार हुने बैमासमी रायो साग प्रतिमुठा रु ५० का दरले बारीबाटै बिक्री हुँदै आएको उनकाे भनाइ छ । ‘अहिले रायो सागको सिजन होइन,अरुले उत्पादन गरेका छैनन्’,उनले भनिन्, ‘त्यही भएर महँगो दरमा बिक्री हुँदा आम्दानी धेरै भएको हो ।’ तिम्सिनाले २० टनेल बनाएर रायो सागको व्यावसायिक खेती गर्दै आएकी छिन् । सुरुमा एउटा टनेल बनाएर खेती सुरु गरेकी उनले राम्रो आम्दानी भएसँगै थप २० प्लाष्टिक टनेल बनाएर सागखेती गरेको बताइन् ।
ज्ञान केन्द्रले तरकारी खेतीलाई प्रवर्द्धनका लागि टनेल बनाउन रु ६ लाख १२ हजार रकम ५० प्रतिशत अनुदान दिएपछि उनले रु ११ लाख ८८ हजार थपेर रु १८ लाखमा २० आरसिसी पिलरमा प्लाष्टिक टनेल निर्माण गरेर सागको व्यावसायिक खेती गर्दै आएकी छिन् । उनलाई साग उत्पादनमा उनका श्रीमान् शान्तिरामले साथ दिँदै आएका छन् । तिम्सिनाले थप चार स्थानीयलाई समेत रोजगारी दिएकी छिन् ।
मेचीनगर नगरपालिका–२ बाहुनडाँगीका खगेन्द्रबहादुर भुजेलले पनि माता कृषि फार्ममार्फत बैमौसमी रायो सागको खेती गर्दै आएका छन् । उनले दुई सातामा रु दुई लाखको रायो साग बिक्री गरेको बताए । जिल्लाकै अति दुर्गमस्थलमा सागको खेती गरेका भुजेलले उत्पादन गरेको साग बिक्रीका लागि बिर्तामोडस्थित कृषिथोक बजारमा पुर्याउने गरेको बताए ।
रायो सागको खेती गर्दा बाह्रैमास हुने र आम्दानी पनि राम्रो हुने हुँदा पछिल्लो समय यसको खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताए । उनले बेर्ना तयार गरेर लगाएको एक महिनामै सागले राम्रो आम्दानी दिने हुँदा केन्द्रले साना किसानलाई व्यावसायिक अग्र्यानिक तरकारी खेतीमा प्रोत्साहन गरिरहेको बताए । टनेल निर्माणका लागि चालु आर्थिक वर्षमा २० किसानका कृषि फार्मले अनुदान पाएको उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij