वेबटिभी खबर
काठमाडौं । वडा कार्यालयमै वडाअध्यक्षलाई हातपात र गालीगलौज भएको आरोपमा माओवादी निकट जनप्रतिनिधिहरूले ध्यानाकर्षण गराएका छन् ।
बर्दिवास नगरपालिका-१२ का वडाअध्यक्ष रामकिशोर साहलाई हातपात र गालीगलौज गरेको विषयलाई लिएर जनप्रतिनिधिहरूले प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
राजनीतिक प्रतिशोध लिने उद्देश्यले नियोजित ढंगबाट घटना भएको भन्दै दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनीहरूको माग छ ।
आइतबार संयुक्त विज्ञप्ति निकाल्दै वडाअध्यक्ष शमशेर सिंह, पदमबहादुर आले, पूर्णबहादुर बल र कार्यपालिका सदस्य ऐश्वर्या बम्जन तामाङले पूर्वाग्राही ढंगले यस्तो घटना गराएको आरोप लगाएका हुन् ।
वडाअध्यक्ष साहले आइतबार नै पीडकहरूविरुद्ध प्रशासनमा किटानी जाहेरी दिएका छन् ।
अभद्र व्यवहार कसुरअन्तर्गत दिएको उक्त किटानी जाहेरीमा स्थानीय सोहन पौडेल, समीर बैठा, रामनविन महतो, विमलेश महतो, सन्जिव महतो, सरोजकुमार शर्मा, उपेन्द्र महतो र चान्द नट संलग्न भएको बताइएको छ ।
हातपात गर्ने क्रममा वडाअध्यक्ष साहको दायाँ हातमा चोट लागेको छ भने एउटा मोबाइलसमेत हराएको वडाअध्यक्षले बताएका छन् । वडानम्बर १२ को वडा कार्यालयमा स्थानीयहरूसँग छलफल भइरहेका बेला २९ असारमा आक्रमण भएको थियो ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij