Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

किन उकालो लाग्दैछ नेपालमा सङ्क्रमणको ग्राफ ?

किन उकालो लाग्दैछ नेपालमा सङ्क्रमणको ग्राफ ?

  • 466
    SHARES
  • किन उकालो लाग्दैछ नेपालमा सङ्क्रमणको ग्राफ ?

    काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ ।

    असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा सोमबार सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र साेमबार सङ्क्रमणका कारणले एक/एक सङ्क्रमितको ज्यान गएको छ । सङ्क्रमण असारदेखि उकालो लाग्न थालेको हो । असार २७ गते १६८, असार २८ गते १७७, असार २९ गते २०६ असार ३० गते २६०, असार ३१ गते २२९, असार ३२ गते २०५ र साउन १ गते १३५ मा सङ्क्रमण देखिएको छ । शून्य दशमलव पाँच प्रतिशतमा रहेको सङ्क्रमण अहिले ९.८२ प्रतिशत पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित काठमाडौं जिल्लामा रहेका छन् । शून्य सङ्क्रमित हुने जिल्ला पनि घटेर आठ मात्र पुगेको छ । 

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताउँछन् । ‘भारतमा दैनिक सङ्क्रमण बढिरहेको छ । भारतबाट हजारौँ मानिस नेपालको सीमा हुँदै प्रवेश पनि गरिरहेका छन्’, उनले भने, ‘ती सीमा नाकाबाट प्रदेश गर्नेमा दैनिक सङ्क्रमण देखिएको छ । ती मानिसले नै सङ्क्रमण सारिरहेका छन् ।’

    उनका अनुसार भारतमा सङ्क्रमण बढ्नुका साथै नेपालमा जनस्वास्थ्यका मापदण्ड लागू नगर्नाले सङ्क्रमण बढेको हो । मानिसले जनस्वास्थ्यका मापदण्ड मास्क नलगाउने, भीडभाड गर्ने, साबुन पानीले हात नधुने, भौतिक दूरी कायम नगर्ने जस्ता कारणले पनि सङ्क्रमण फैलिएको बताइन्छ । 

    नेपालमा पनि अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा ओमिक्रोन भेरियन्ट ‘विएफाइभ’ प्रजातिको  सङ्क्रमित भेटिएको छ । उनले बिएफाइभ प्रजातिको सङ्क्रमण फैलिने उच्च दर रहेकाले अहिले सङ्क्रमित बढेको बताए । महाशाखाका निर्देशक डा. दासले सङ्क्रमित बढ्न थालेपछि अस्पताल र प्रयोगशालालाई तयारी अवस्थामा राखिएको बताए।  

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनिषा रावल  गत हप्तादेखि बिरामी उपचारका लागि आउने गरेको बताउँछन् । उनका अनुसार अस्पतालमा तेस्रो लहरपछि पहिलो पटक असारमा बिरामी उपचारका लागि आएका थिए । अहिले अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ । तीमध्ये सघन उपचार कक्ष (आइसियु) मा एक र चारले क्याबिनमा उपचार गराइरहेका छन् ।

    अस्पतालमा साउन १ गते ३८ परीक्षण गर्दा १८ मा कोरोना पोजिटिभ देखिएको थियो । उनले अहिलेका बिरामीमा ज्वरो, रुघाखोकी भए पनि गम्भीर नरहेको र अक्सिजन नचाहिएको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij