वेबटिभी खबर
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले फोहर व्यवस्थापनको सम्बन्धमा कुन तहको सरकारले के गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था हुनुपर्ने बताए ।
शुक्रबार मन्त्रालयले आयोजना गरेको फोहरमैला व्यवस्थापनसम्बन्धी नयाँ कानुन तर्जुमाको आवश्यकता विषयमा काठमाडौं उपत्यकाको जनप्रतिनिधिसँको छलफल गर्दै मन्त्री श्रेष्ठले स्पष्ट कानुनी व्यवस्था हुनुपर्ने बताएका हुन् ।
कतिपय अवस्थामा कुन सरकारले के गर्ने भन्ने कानुनी पाटो खुला नहुँदा पनि फोहर व्यवस्थापनमा समस्या आएको मन्त्री श्रेष्ठले बताए ।
उनले भने, ‘एक स्थानको फोहर अर्को स्थानमा थुपारेर व्यवस्थापन नहुने भन्दै सही समाधानका लागि जसले फोहर उत्पादन गर्छ त्यसको व्यवस्थापक ऊ आफैँ हुनुपर्छ । अन्यथा फोहरको दीर्घकालीन समाधान कहिल्यै हँदैन ।’
आगामी दिनमा फोहाेरलाई आम्दानीको स्रोतका रूपमा विकास गर्नका लागि नीतिगत रूपमा नै व्यवस्थापन हुनुपर्ने भन्दै मन्त्री श्रेष्ठले अब बन्ने कानुनमा फोहर व्यवस्थापनसँगै सरसफाइ र वातावरणीय स्वच्छतासमेत कायम गर्ने विषय पनि समावेश गरिने बताए ।
त्यसैगरी कार्यक्रममा सहभागीहरुले नयाँ कानुनमा संघ, प्रदेश र स्थानीय तहको कार्यजिम्मेवारी, समन्वय र सहलगानीको ढाँचासमेत उल्लेख हुनुपर्नेमा जोड दिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij