वेबटिभी खबर
सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा रहेका सडकमा क्षति हुन थालेको छ । शुक्रबार राति आएको बाढीले मेलम्ची-हेलम्बु तथा मेलम्च-पाँचपोखरी सडक अवरूद्व भएको हो ।
गत वर्षा आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ । मेलम्ची हेलम्बु सडक दिनहुँ अवरूद्व हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भू-भागमा पहिरो जाँदा बस्ती जोखिममा परेका छन् ।
हेलम्बु गाउँपालिकाको सडक दिउँसो सञ्चालन गरिए पनि राति पर्ने पानीका कारण दिनहुँजसो सडक बन्द हुँदा यात्रुलाई समस्या हुने गरेको छ । त्यस्तै हेलम्बुको मेलम्ची भ्याली क्याम्पस ग्याल्थुम उच्च जोखिममा छ ।
अहिले क्याम्पस नजिकैबाट खोला बगिरहेको र जुनसुकै बेला क्याम्पसमा क्षति हुनसक्ने स्थानीयले बताएका छन् । अहिले किउलदेखि मेलम्चीसम्मका नदी किनार आसपासका नागरिक ढुक्कले सत्न पाएका छैनन् ।
‘बाढीले सडकलाई दैनिक क्षति गरिरहेको छ, हामी मर्मत गरिरहेका छौं, केही समय मात्र यातायात सेवा अवरूद्व भएको छ, हामी तत्काल बाटो खुलाउन र जोखिममा रहेका संरचना बचाउनका निम्ति लागि परेका छौं’, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने ।
मेलम्ची नगरपालिकाको राम्चेमा पहिरो जाँदा सडक अवरूद्व भएको छ । सडक खुलाउन मेसिन पठाइसकिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij