वेबटिभी खबर
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले आफूले नागरिकताका विषयमा मधेसका जनतासँग गरेको प्रतिबद्धता पुरा गरेको बताएका छन् ।
शनिबार सर्लाहीको बाग्मती नगरपालिका सोल्टीबजारस्थित एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयक माओवादीकै कारण पारित भएको दाबी गरेका हुन् ।
उनले भने, ‘लामो समयदेखि नागरिकताविहीन नागरिकको समस्या समाधान गर्ने विषयमा मैले पटक-पटक प्रतिबद्धता जनाएको थिए । अब यो व्यवहारिक रूपमा कार्यान्वयन भएको छ ।’
मधेसी जनताको चाहनाअनुरूप यहाँको शिक्षा, स्वास्थ्य, सडक संरचना माओवादी केन्द्रको अगुवाइमा विकासका काम हुने उनकाे भनाइ छ ।
उनले अर्कै सन्दर्भमा नेपालको राष्ट्रिय एकतालाई बलियो पार्न छिमेकी देश चीन र भारतसँग सन्तुलित सम्बन्ध बनाउनुपर्ने बताए । चीन सरकारको एउटा टोलीसँग र भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्षको निम्तोमा भारतमा गएर सरकारका प्रतिनिधि र पार्टीका प्रतिनिधिसँग स्पष्ट छलफल भएको उनले बताए ।
उनले भने, ‘नेपालको राष्ट्रिय हितका निम्ति, नेपाली जनतको विकास र समृद्धिका निम्ति मैले दुवै छिमेकीबाट त्रिदेशीय सम्झदारी बनाउने, दुवैबाट सहयोग जुटाउने कोसिस पार्टीले गरिरहेको छ ।’
अध्यक्ष प्रचण्डले संघीयतालाई बदनाम र कमजोर पार्ने काम भइरहेकाले यहाँको जनता सजग भएर संविधानको रक्षाका निम्ति माओवादी केन्द्रलाई आगामी चुनावमा मत दिनुपर्ने बताए ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता प्रल्हाद बुढाथोकीलगायतले जनताका बीचमा गएर पार्टी गतिविधिका बारेमा प्रचार–प्रसार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij