वेबटिभी खबर
काठमाडौं । विश्वस्वास्थ्य संगठन (डब्लुएचओ)ले मंकीपक्स संक्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ ।
बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा संगठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले मंकीपक्स द्रुतगतिमा बढेकाले जनस्वास्थ्य आपत्कालको रूपमा घोषणा गरेका हुन् ।
संक्रमण बढ्न थालेपछि डब्लुएचओले दक्षिण-पूर्वी एसिया क्षेत्रका देशहरूलाई मंकीपक्सको निगरानी र जनस्वास्थ्यका उपायलाई सुदृढ बनाउन आह्वान गरेको छ ।
‘मंकीपक्स द्रुत गतिमा फैलिरहेको छ र यो पहिले नदेखिएका धेरै देशमा समेत फैलिरहेको छ । जुन ठूलो चिन्ताको विषय हो’, डब्लुएचओको जारी गरेको विज्ञप्तिमा दक्षिण-पूर्वी एसिया क्षेत्रका लागि निर्देशक डा.पुनम खेत्रपाल सिंहले भनेका छन् ।
‘यद्यपि, पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषको सम्बन्धमा भने जोखिममा रहेका जनसंख्यामा केन्द्रित प्रयासमार्फत रोगको थप फैलावटलाई कम गर्न सम्भव छ ।’ डब्लुएचओका अनुसार विश्वमा ७५ देशहरूमा १६ हजारमा मंकीपक्सका संक्रमण पुष्टि भएका छन्।
दक्षिण-पूर्वी एसिया क्षेत्रमा, भारतमा तीन र थाइल्याण्डमा एक गरी जम्मा चार मंकीपक्सका संक्रमण पुष्टि भएकाे डब्लुएचओले जनाएको छ । भारतमा मध्यपूर्वी देशबाट घर फर्केकामा र थाइल्याण्डमा भने त्यही बसोबास गर्दै आएका एक विदेशी नागरिकमा मंकीपक्स संक्रमण पुष्टि भएको डब्लुएचओले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘विश्वव्यापीरूपमै र यस क्षेत्रमा मंकीपक्सको जोखिम मध्येम भए पनि अन्तर्राष्ट्रियस्तरमा यसको थप फैलावटको सम्भावना भने छ । साथै, भाइरसबारे अझै धेरै अनबिज्ञ छन् । मंकीपक्स संक्रमण थप फैलनबाट रोक्नका लागि हामी सजग रहनुपर्छ र द्रुत प्रतिकार्यका लागि तयार हुनुपर्छ’, डा.खेत्रपाल सिंहले भने ।
प्रकोप सुरु भएदेखि नै डब्लुएचओले जोखिम मूल्यांकन र जनस्वास्थ्यका उपायको सुरुआत गर्नका साथै यस क्षेत्रमा परीक्षण क्षमताको विकास गर्न पनि सहजीकरण गर्दै आएको जनाएको छ ।
मंकीपक्सको प्रतिकार्यका लागि प्रभावित समुदायलाई सहभागी बनाउनु र सुरक्षित गर्नु, निगरानी र जनस्वास्थ्यका उपायलाई तीव्र बनाउनु, स्वास्थ्य संस्थामा उपचार व्यवस्थापन र संक्रमण रोकथाम तथा नियन्त्रणलाई बलियो बनाउनु र खोपको प्रयोग, उपचार तथा अन्य उपायको अनुसन्धानलाई बढाउनु मुख्य उपाय हुन् ।
मंकीपक्स भाइरस संक्रमित जनावरसँगको अप्रत्येक्ष वा प्रत्येक्ष सम्पर्कबाट मानिसमा सर्ने गर्दछ । संक्रमित व्यक्तिको छाला वा बिमिरा र श्वासप्रश्वासका थोपाको प्रत्येक्ष सम्पर्कमा आएमा मानिसदेखि मानिसमा यो रोग सर्न सक्छ ।
हाल प्रकोप फैलिएका देशमा मंकीपक्स संक्रमणमध्ये मुख्यरूपमा यौन सम्पर्कसहित नजिकको शारीरिक सम्पर्कमार्फत संक्रमण भएको देखिएको डब्लुएचओले जनाएको छ । संक्रमित छालाका कण भएका ओछ्यान, विद्युतीय उपकरण, कपडाजस्ता संक्रमितका सामग्रीबाट पनि रोग सर्न सक्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij